कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जारी लकडाउनका कारण बन्द विद्यालय कसरी सुचारु गर्ने भन्ने विषयमा शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालासँग छलफल गरेको छ । उच्चस्तरीय समितिले विहीबार लकडाउनका बेला विद्यालय सञ्चालन र विद्यार्थीको पठनपाठनलाई पनि सहजीकरण गर्दै लैजाने सम्बन्धमा शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालाहरूसँग परामर्श गरेको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा विज्ञहरूले लकडाउनमा अवरुद्ध भएको पठनपाठनका लागि विभिन्न विकल्प अघि बढाउन सुझाव दिएका छन्। उनीहरुले लकडाउनको अवस्थामा अनलाइन कक्षा (भर्चुअल क्लास) सञ्चालन लगायतका विकल्प खोज्न सुझाव दिएका छन् ।
जोखिमको स्तर हेरेर सम्भव हुने स्थानमा छिटो पठनपाठन सुचारु गराउने, संचालन गर्न नसकिने स्थानमा अनलाइन तथा टेलिभिजन मार्फत कक्षा संचालनको विकल्प खोज्न उनीहरूले सुझाव दिएका हुन् ।
उच्च माध्यमिक विद्यालय संघ (हिसान)का अध्यक्ष रमेश सिलवालले अवरुद्ध पठनपाठन संचालन, परीक्षा, भर्ना तथा भर्चुअल क्लासका सम्बन्धमा नेपाली वैज्ञानिकले बनाएका नयाँ आविस्कारलाई प्रमाणीकरण गर्न तथा खोज अनुसन्धानबाट आएका तथ्यांकलाई सम्पत्ति मानेर अगाडि बढाउन सुझाव दिएको बताए ।