दैनिक १० हजार नमुना जाँच्ने क्षमताका उपकरण खोज्दै सरकार

केही सातादेखि कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्न थालेपछि सरकारले एकै दिनमा हजारौँ नमुना परीक्षण गर्न सक्नेगरी प्राविधिक क्षमता अभिवृद्धि गर्नेबारे विचार गरिरहेको अधिकारीहरूले बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालका अनुसार एक दिनमा कम्तीमा १० हजारवटा नमुना परीक्षण गर्ने गरी क्षमता बढाउन सरकारले एउटा ठूलो स्वचालित र तीनवटा अन्य ठूला उपकरण ल्याउन खोजेको छ।

उनले भने, ‘विभिन्न ठाउँबाट सङ्कलन गरिएका स्वाब प्रयोगशालामा बढ्दै गएकाले त्यसको निकास दिन त्यस्तो मेसिन ल्याउने निष्कर्षमा पुगेका छौँ।’ अहिले देशभरि १,६०,००० भन्दा बढी व्यक्ति क्वारन्टीनमा छन् र भारत तथा अन्य देशबाट पनि नेपाली नागरिकलाई फर्किन दिने सरकारले जनाएको छ।



त्यसैले रोग नियन्त्रणका लागि परीक्षण बढाउन अपरिहार्य मानिएको छ। नेपालभरि भएका सबै प्रयोगशालामा गरी एक दिनमा अधिकतम पाँच हजारको हाराहारीमा परीक्षण नतिजा आएको छ।

कतिपय दिनमा त्यसको आधा मात्रै नमुना परीक्षण हुने गरेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। सबैभन्दा बढी परीक्षण हुने काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक हजारको हाराहारीमा परीक्षण हुने गरेको देखिन्छ।

स्वास्थ्यमन्त्री ढकालका अनुसार प्रयोगशालामा नमुना परीक्षण गर्न पालो कुर्नुपर्ने अवस्था आएको छ। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि पीसीआर उपकरण राखेर परीक्षण शुरु भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बिहान ८ बजेदेखि मध्यरातसम्म परीक्षण भइरहेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले छिट्टै २४ घण्टा परीक्षणको काम गर्ने तयारी भइरहेको बीबीसीसँग बताए।

सम्बन्धित समाचार