
सरकारले कोरोना पोजेटिभ देखिएका लक्षणविहीन र सामान्य लक्षण देखिएका व्यक्तिको पुनः कोरोना परीक्षण नगर्ने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले लक्षणविहीन र लक्षण भएका दुवै प्रकारका कोरोना संक्रमण देखिएका व्यक्तिको पुन: कोरोना परीक्षण नगरिने बताए ।
‘लक्षणविहीन कोरोना संक्रमित घरमै १४ दिन आइसोलेसनमा बसे भने उनीहरूको परीक्षण गर्नु पदैन,’ उनले भने, ‘लक्षण देखिएर १४ दिन अस्पतालको आइसोलेसनमा बसेकाहरूको पछिल्लो ४ दिनसम्म कुनै लक्षण देखिएन भने पनि परीक्षण नगरी डिस्चार्ज गर्न सकिनेछ ।’
यसअघि कोरोना पोजेटिभ देखिएका व्यक्तिको थप दुईवटा रिर्पोट नेगेटिभ आएपछि मात्र डिस्चार्ज हुँदै आएका थिए । उनले लक्षणविहीन कोरोना देखिएका व्यक्तिबाट रोग सर्ने क्षमता नहुने र अन्यलाई संक्रमण नसार्ने पछिल्लो समय विश्व स्वास्थ्य संगठनले हामीलाई दिएको गाइडलाइनमा रहेको जानकारी दिए । विश्व स्वास्थ्य संगठन र सीडीसी अमेरिका लगायतको गाइडलाइन हेर्दा लक्षण नभएकाभन्दा लक्षण भएका संक्रमिततिर बढी केन्द्रित हुनुपर्ने देखिएको उनले बताए ।
‘अहिले कोही लक्षणविहीन कोरोना संक्रमित घरमै आइसोलेसनमा बस्छु भन्दा दिएका छैनौं तर अब घरमा छुट्टै कोठा छ, हामीले भनेको सर्त पालना गरेर बस्छु भन्ने व्यक्तिलाई घर पठाउँने गरिन्छ,’ उनले भने, ‘यदि भाडाको कोठामा बसेका छन्, एउटै कोठामा धेरै जना बस्दै आएका छन् भने त्यस्तालाई घर जान भनिँदैन ।’ त्यसैगरी, विदेशबाट आउने नेपालीहरूलाई विमानस्थलमै सिम कार्ड दिएर पठाएको उनले बताए ।
उनका अनुसार विदेशबाट आएकाहरूलाई घर पठाउँदा सम्बन्धित इन्ट्री प्वाइन्टमा लाइन लिस्टिङ गरिन्छ, त्यहाँ सम्बन्धित नगरपालिका र गाउँपालिकाहरूले लगेर घरमै बस्न चाहनेलाई बस्न दिनेछन् ।
घरमा बसेका व्यक्तिमा कोरोनाको लक्षण देखिएमा सम्बन्धित गाउँपालिकालाई सम्पर्क गर्ने छन् । बिरामी भएमा अस्पताल वा सम्बन्धित आइसोलेसन सेन्टरमा ल्याएर उपचार गर्नेछन् । हामीले सोही अनुसार कन्ट्याक ट्रेसिङ गर्ने गर्छौं ।
