आजदेखि देशभरको मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको निसर्ग चक्रवात कमजोर भएर बनेको न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आइतबार पश्चिमी भूभागबाट विस्तारै सुधार हुँदै जाने मौसमविद्ले बताएका छन् ।
वरिष्ठ मौसमविद् मीनकुमारले आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय देखिए जस्तो लागे पनि यो मनसुन नभई अन्य प्रणाली भएको बताए । सामान्यतया नेपालमा १० जुनदेखि मनसुन शुरू हुने गर्छ । मौसमविद्का अनुसार यस वर्ष औषत समयभन्दा १ साता ढिलो मनसुन भित्रिने अनुमान छ ।
नेपालमा मनसुन भित्रिनका लागि दक्षिणपूर्वी हावा बङ्गालको खाडीबाट वायुमण्डलको तल्लो सतहदेखि करिब ६ किलोमिटर माथिसम्म प्रवेश हुनुपर्छ । अहिले वायुमण्डलको तल्लो सतहमा मात्र त्यस्तो हावाको प्रवेश देखिएको छ । जलवाष्युक्त हावाको वायुमण्डलको माथिल्लो सतहमम्म प्रभाव कायम रहेमा मनसुन सुरू हुने मौसमविद्ले जानकारी दिए ।
हाल देशको प्रदेश ५, कर्णाली, गण्डकी, बागमती तथा प्रदेश १ र सुदूर पश्चिम प्रदेशको पहाडी भूभागमा सामान्य बदली रहेको छ भने प्रदेश २ तथा प्रदेश १ र सुदूर पश्चिम प्रदेशको तराई भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखले जनाएको छ ।
साथै गण्डकी प्रदेश, प्रदेश ५ र बागमती प्रदेशका १-२ स्थानमा हल्का वर्षा भइरहेको छ ।