उदयपुरका दुईवटा स्थानीय तहका क्वारेन्टाइनमा बसेका तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बेलका नगरपालिकाका दुईजना र चौदण्डीगढी नगरपालिकाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरुमध्ये दुईजना बेलका नगरपालिका(३ का ३५ वर्षीया महिला र ३६ वर्षीय पुरुष रहेका छन् । भारतको सिलोङमा मजदुरीका लागि गएका उनीहरु जेठ १५ गते सुनौली नाकाबाट नेपाल प्रवेश गरी हिंडेर बेलका आइपुगेका थिए ।
संक्रमित दुवै उनीहरु श्रीमान् श्रीमति रहेको बेलका नगरपालिकाका सामाजिक शाखाका प्रमुख एकबहादुर निरौलाले जानकारी दिए । उनीहरुलाई वडा नम्बर ३ कै एबिसी अधारभूत विद्यालय कोसीटप्पुमा तयार पारिएको क्वारेन्टाइनमा राखिएको थियो ।
त्यसैगरी संक्रमित मध्ये एकजना चौदण्डीगढी नगरपालिका-५ का २६ वर्षीय युवक हुन् । उनी दुई साता अघि काठमाडौंबाट फर्किएका थिए । क्वारेन्टाइनबाट घर फर्काउने बेलामा गरिएको स्वाब परीक्षणमा उनको रिपोर्ट ‘पोजेटिभ’ आएको मेयर खगेन्द्र राईले बताए । उनले भने, ‘हामीले उहाँको क्वारेन्टाइनको अवधि सकेर घर फर्काउने बेलामा रिपोर्ट आउँदा पोजिटिभ देखायो । अब त सतर्क हुनै पर्यो नि फेरि ।’
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले तीन दिनअघि उदयपुरका विभिन्न पालिकाका क्वारेन्टाइनमा राखिएका साढे चारसय बढी व्यक्तिहरुको स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाएको थियो । आइतबार तीनजना थपिएपछि संक्रमितको संख्या ३६ पुगेको हो ।