बारामा तीन वर्षीया बालिकासहित थप ७ जनामा कोरोना संक्रमण

तीन वर्षीय बालिकासहित बारामा थप ७ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । बाराको पचरौता नगरपालिकाका २ जना पुरुष र सुवर्ण गाउपालिकाको ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सुवर्ण गाउपालिकाका कोरोना संक्रमित पुष्टि भएका ५ जना मध्ये एक ३ बर्षिय बालिका र उनकी आमा तथा ३ जना पुरुषहरु रहेको गाउँपालिकाका स्वास्थय शाखाका प्रमुख सुरेन्द्र साहले जानकारी दिए ।



संक्रमित सबैजना गत जेठ ६ गते भारतबाट फर्किएर गाउँपालिकाको वडा नम्बर ४ हरदिया टोल स्थित प्राथमिक स्वास्थय केन्द्रमा बनाइएको क्वारेन्टाईनमा बस्दै आएको साहले बताए ।

क्वारेन्टाईनमा बस्दै आएका १८ जनाको गत जेठ २३ गते स्वाब संकलन गरि पर्साको बिरगञ्जमा रहेको नारायणी अस्पतालमा पिसिआर परिक्षणको लागि पठाइएकोमा सोमबार ५ जनाको रिपोर्ट पोजेटिभ आएको साहको भनाइ छ ।

यस्तै पचरौता नगरपालिकाको क्वारेन्टाईनमा रहेको दुईजनामा पनि सोमबार कोरोना संक्रमित पुष्टि भएको छ । भारतबाट फर्केर नगरपालिकाको क्वरेन्टाईनमा बस्दै आएका दुईजनामा संक्रमित पुष्टि भएको नगरपालिकाका स्वास्थय संयोजक नवल यादवले जानकारी दिए ।

भारतको दिल्लीबाट फर्केर नगरपालिकाको वडा नम्बर ४ बेल्दारी टोलस्थित क्वारेन्टाईनमा बस्दै आएका १८ जनाको स्वाब सँकलन गरि गत जेठ २३ गते पीसीआर परीक्षणको लागि नारायणी अस्पतालमा पठाइएकोमा सोमध्ये दुई जनामा कोरोना संक्रमित पुष्टि भएको यादवले बताए।

संक्रमित दुवैजना १९ र २५ वर्षीय पुरुष रहेको उनले बताए । पचरौता नगरपालिका र सुवर्ण गाउँपालिकामा भेटिएका सातै जना संक्रमितहरुलाई उपचारको लागि कलैयामा रहेको अस्थाथी विशेष कोभिड अस्पतालमा पठाउने तयारी भइरहेको छ।

सम्बन्धित समाचार