प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले सरकारले सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर गरेको हाे ।
पर्याप्त स्वास्थ्य सामाग्री आपूर्ति गर्न नसक्नु, आपूर्ति भएका सामाग्रीमा भ्रष्टाचार हुनु, व्यवस्थित क्वारेन्टिन नहुनु, परीक्षण किटको अभाव हुनु लगायतले सरकारको असफलता उदांगो गरेको कांग्रेसले बताएको छ ।
आइसोलेसन सेन्टर र प्रयोगशालाको गुणस्तर र संख्या वृद्धि नहुनु, विदेशबाट आउनेहरुलाई सुरक्षित रुपमा उनीहरुको घर पुग्ने प्रबन्ध गर्न नसक्नु पनि सरकारको कमजोरी भएको कांग्रेसको ठहर छ । बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।
कांग्रेसले कोरोनाबाट प्रभावित अर्थतन्त्रको उत्थानका लागि उद्योग व्यवसायीलाई उचित प्याकेजको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, स्थानीय तहका निर्वाचित प्रतिनिधि र सञ्चारकर्मी लगायत कोरोनाविरुद्धको लडाईमा अग्रपक्तिमा रहेर काम गर्नेहरुका लागि स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराउन पनि ध्यानाकर्षण गराएको छ ।