संविधान संशोधन विधेयकमाथि मंगलबार (भोलि) देखि छलफल हुने भएको छ । प्रतिनिधिसभाको भोलिको बैठकमा संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुने भएको हो।
सचिवालयले सार्वजनिक गरेको संभावित कार्यसूचीमा कानुन मन्त्री शिवमाया तुम्बाहाम्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ लाई सैद्धान्तिक छलफलका लागि पेश गर्ने रहेको संसदका महासचिव डा। भरतराज गौतमले जानकारी दिए।
सर्वसाधरणको जानकारीका लागि सार्वजनिक गरेको सात दिनपछि विधेयक छलफलका लागि संसदमा प्रस्तुत गर्न सकिने प्रावधानअनुसार विधेयक मंगलबार अघि बढ्ने भएको हो। संघीय संसद सचिवालयले जेठ १९ गते राजपत्र र २० गते गोरखापत्रमा सर्वसाधरणको जानकारीका लागि संविधान संशोधन विधेयक सार्वजनिक गरेको थियो। उक्त सात दिन सोमबार पूरा भएसँगै सरकारले संशोधन विधेयक अघि बढाउन लागिएको हो ।
सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर सरकारले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जेठ ७ गते सार्वजनिक गरेको थियो। निशान छापमा प्रयोग भएको देशको नक्सा परिवर्तन गर्न सरकारले संविधान संशोधन विधेयक जेठ ९ गते दर्ता गरेको थियो।