
कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारी प्रयास अति कमजोर र प्रभावहिन रहेको भन्दै त्यसको विरोधमा प्रधानमन्त्री निवास बालुवाटार नजिक मंगलबार प्रदर्शन भएको छ ।
प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा केही घाइते भएका छन् । प्रहरीको लाठी लागेर विवेकशील नेपाली दलका उज्ज्वल थापा सामान्य घाइते भएका छन् ।
प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न पानीको फोहोरा समेत प्रयोग गरेको थियो ।
कोरोना भाइरसको परीक्षण पीसीआर विधिबाट मात्रै गर्नु पर्ने, क्वारेन्टिन सेन्टरहरु पूर्ण सुरक्षित बनाउनु पर्ने तथा सबैको जीवन रक्षा गर्नु पर्ने मागसहित प्रधानमन्त्री निवास नजिकै रहेको वडा कार्यालय अगाडि उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरु मास्क लगाएर गएका थिए ।
केही प्रदर्शनकारीलाई प्रहरीले पक्रेको छ। प्रदर्शनकारीले एमसीसीको पनि विरोध गरेका थिए ।
