ओली बैठकबाट तर्किन थालेपछि खुमलटारमा बन्यो घेराबन्दी गर्ने योजना

पार्टीको स्थायी कमिटी बैठक बोलाउन आलटाल गर्दै आएका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठकमा पनि बस्न नमानेपछि उनीविरूद्ध मोर्चाबन्दीको योजना बनेको छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच आज बिहान आजै बस्ने तय भएको सचिवालय बैठकको एजेण्डाबारे कुराकानीको क्रममा फोनमै विवाद भएको थियो । एजेण्डामै सहमति जुट्न नसक्दा आजको लागि तय भएको नेकपाको सचिवालय बैठक स्थगित भएको थियो ।

बिहान २ अध्यक्षबीचको कुराकानीको क्रममा ओलीले प्रचण्डलाई एमसीसीको व्यवस्थापन गर्न आग्रह गरेका थिए । फोनमा ओलीले तपाईहरूले नै ल्याएको परियोजना हो, व्यवस्थापन पनि तपाईहरू नै गर्नुहोस् भनेका थिए । एमसीसीकै कारण अमेरिकासँग सम्बन्ध बिग्रिन पुगेको ओलीको गुनासो थियो । जवाफमा प्रचण्डले एमसीसीको केही बुँदाहरू संशोधन नगरी पारित गर्न नसकिने बताएपछि ओली प्रचण्डसँग झर्किदै आजको बैठकबाट एमसीसी पारित गर्ने निर्णय नहुने हो भने सचिवालय बैठक नबसौं भन्दै फोन काटेको खुमलटार स्रोतको दाबी छ ।



हिजो र आज दुबैदिन सचिवालय बैठक बस्न ओली नमानेपछि प्रचण्डले ओलीइत्तरका नेताहरूसँग बिहानैदेखि परामर्श लिइरहेका थिए र खासगरी एमसीसीलाई लिएर ओलीले दबाब दिन थालेपछि ओलीइत्तरका नेताहरू आज खुमलटारमा जुटेका थिए । खुमलटारको गोप्य भनिएको बैठकमा पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालदेखि उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरू सहभागी भएको स्रोतको दाबी छ ।

प्रचण्डनिवास खुमलटारमा आजको भेटमा सहभागी नेताहरू ओलीविरूद्ध घेराबन्दी गरेर अगाडि बढ्नुपर्ने अवस्था आएकोमा एक भएका थिए । बैठकबाट भाग्न थालेको र एमसीसीलाई लिएर पार्टीको निर्णय नमान्ने सन्देश दिनथालेको भन्दै उनीहरू ओलीविरूद्ध मोर्चाबन्दीको विकल्प नभएको कुरामा एक भएका हुन् ।

भेटमा ओली एकलौटी रूपमा अगाडि बढेको र उपसभामुख चयनमा बेवास्था गरेको र स्थायी कमिटी बैठक बोलाएर यसअघि ३ विधेयक ल्याउन बलमिच्याइँ गरेकोमा आत्माआलोचना गर्न तयार नभएकोले यसरी पार्टी अगाडि बढ्न नसक्नेमा नेताहरूको एक मत पाइएको स्रोतको दाबी थियो ।

बैठकमा नेता नेपालले सरकार पार्टीको निर्देशन विपरीत चल्न नसक्ने भन्दै ओलीविरूद्ध मोर्चाबन्दी गरेर बैठकबाट निर्णय गराउदै सरकारलाई निर्णय कार्यन्वयनमा बाध्य पार्नुपर्ने बताएका थिए । अर्का वरिष्ठ नेता खनालले एमसीसी संशोधनतिर लाग्नुभन्दा खारेज गर्न नै दवाव दिनुपर्ने सुझाव प्रचण्डलाई दिएका थिए ।

आजको खुमलटार बैठकपछि नेकपभित्रको राजनीतिक शक्ति सन्तुलनलाई लिएर ओली फेरि एकपटक पार्टीभित्र अल्पमतमा परेको चर्चा छ ।

सम्बन्धित समाचार