आज कुन जिल्लामा कति संक्रमित थपिए ?

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ सय २३ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको जानकारी दिए । उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षण मात्र १२५ जना संक्रमित थपिएका छन्। उनीहरु महोत्तरीका ३१, धनुषाका २४, रौतहट २१, सर्लाही १६, सिरहा र नवलपराशी पश्चिमका १२–१२ जना, कपिलबस्तुका ७ र नुवाकोट २  जना छन्।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कञ्चनपुरका १९ जना, दार्चुलाका १० जना, डडेल्धुरा ७ जना र कैलालीका एक जना गरी ३७ जनामा कोरोना संक्रमण पाइएको छ।



यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा चितवनका २४ जना, नवलपुरका ३ जना, धादिङ, कपिलबस्तु र सप्तरी एक–एक जना गरी ३० जना संक्रमित फेला परेका छन्।

यसैगरी पोखरामा गरिएको परीक्षणमा नवलपुरका १२ जना, बाग्लुङका ११ जना र म्याग्दी एक जना गरी २४ जनामा संक्रमण पाइएको छ। प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देहीका २० जना र कपिलबस्तुका २ जनामा संक्रमण पाइएको छ।

त्यस्तै जनकपुर अस्पतालमा गरिएको परीक्षणमा धनुषाका २१ जना, महोत्तरी १९ र सर्लाहीका एक गरी ४१ जना संक्रमित थपिएका छन्। सुर्खेत प्रादेशिक अस्पताल र पशुपंक्षि रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका १२, सुर्खेतका ४ जना गरी १६ जना थपिएका छन्।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ९ जना र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका ६ जना र सुनसरीका एक जना गरी ७ जनामा संक्रमण पाइएको छ। त्यस्तै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङकै ६ जना थपिएका छन्।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ३ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका २ जना र कोशी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा इलामका एक जना पुरुषमा कोरोना भाइरसको संक्रमण पाइएको छ।

आज इलाममा संक्रमित देखिएसंगै नेपालका कुल ७२ जिल्लामा कोरोनाको संक्रमण फैलिसकेको छ।

सम्बन्धित समाचार