लकडाउन मोडालिटी परिवर्तन गर्न मन्त्रिपरिषद बैठक बस्दै

आज मन्त्रिपरिषद बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने बैठकमा लकडाउनको मोडालिटीलगायतका विषयमा निर्णय लिइने तयारी छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि नेपालभर लकडाउन घोषणा गरिएको छ । लामो समयदेखिको लकडाउनले धेरैको जीविकोपार्जनमा समस्या भएपछि अब लकडाउनलाई क्रमशः खुकुलो बनाउने नीति सरकारले लिएको छ ।



उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा बुझाइसकेको छ । दुई हप्ताको एक चरण गरी पाँच चरणमा लकडाउन क्रमशः खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।

यसअघि कोभिड १९ क्राइसिस म्यानेजमन्ट सेन्टर (सीसीएमसी)ले ६ चरणमा लकडाउन खुकुलो गर्ने गरी प्रस्ताव बुझाएको थियो । प्रधानमन्त्री केपी ओली पनि विभिन्न चरणमा लकडाउन खुकुलो गर्दै जाने विषयमा सहमत भएसँगै आजको मन्त्रिपरिषद्ले यस विषयमा निर्णय लिने भएको हो ।

सम्बन्धित समाचार