कुवेतबाट आज तीन सय जना नेपालीलाई स्वदेश फर्कदैछन् । दुई वटा जहाजमा एक सय ५० जनाका दरले ल्याउन लागिएको जनाइएको छ । सरकारी अधिकारीहरूका अनुसार पहिलो जहाजमा प्रदेश १ का ६१, प्रदेश २ मा ९ र वाग्मती प्रदेशका ८० जना हुनेछन् ।
यस्तै, दोस्रो जहाजमा प्रदेश १ का ५७, प्रदेश २ का एक जना, वाग्मती प्रदेशको २६, गण्डकीमा ९ जना, प्रदेश ५ का ४५, कर्णालीमा १० र सुदूरपश्चिम प्रदेशका दुई जना रहने छन् । गैरकानुनी हैसियतमा बसेका कामदारहरूलाई कुवेतमा क्याम्प राखिएको छ । त्यस्तालाई ल्याउन लागिएको हो । उनीहरूलाई कुवेत सरकारले नै जहाज चाटर्ड गरेर पठाउन लागेको बताइएको छ ।
अवैधानिकरूपमा बसेका २९ सय जना नेपालीलाई आममाफि दिएको कुवेत सरकारले उनीहरू सबैलाई क्रमिकरूपमा पठाउन लागेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । सरकारले यही जेठ २३ गतेबाट विदेशमा रहेका नेपालीको उद्धार शुरू गरेसँगै कुवेतमा रहेका नेपाली पनि स्वदेश फर्कन लागेका हुन् ।