भारतले सेना राखेर नेपालको भूमि कब्जा गरेकाले अहिले तनावको अवस्था आएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बुधबार सीमाबारे सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा कालापानी उताको नेपालको भाग भारतले कब्जा गरेको बताएका हुन् ।
उनले भने, ‘भारतले हाम्रो भूमि कब्जा गरेको छ । तथ्य–प्रमाणका आधारमा नेपालको देखाउने भूमि फिर्ता गर्नु पर्छ । समस्याको समाधान भनेको हाम्रो भूति फिर्ता गर्नु नै हो ।’
हालै सरकारले लिपुलेक–कालापानी–लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरेपछि भारत–नेपालबिच सम्बन्धमा तनाव उत्पन्न भएको छ ।
प्रधानमन्त्री ओलीले संसदमा भने, ‘नक्कली काली नदी, तिरतिरे खोल्सा, दह बनाएर सो क्षेत्रको भूमि कब्जा भएको छ ।’ सुस्तासहितका क्षेत्रमा पनि विवाद रहेको तर कालापानी क्षेत्रमा जस्तो गम्भीर नरहेको उनले बताए । उनले भने, ‘सुस्तामा कालापानीमा जस्तो कब्जा भएको छैन, अहिले हामीले फोकस गरिरहेको कुरा कालापानी, लिम्पियाधुरा हो ।’
१९५० को सन्धि नेपालले पालना गरेको र सोही सन्धि अनुसार नेपाली भूमि पाउनु पर्ने कुरा मात्रै नेपालको रहेको उनले बताए । सीमा विवाद समाधानमा भारतले पछिल्लो दुई वर्षदेखि रुची नदेखाएको प्रधानमन्त्री ओलीको भनाई छ ।
भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कालापानी–लिम्पियाधुरा सीमाबारे दिएको अभिव्यक्तिबारे सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘आदित्यनाथले बोल्नुभएको हो भने जायज होइन, हामीलाई धम्क्याउन खोज्नुभएको हो भने उचित होइन । उहाँ केन्द्रीय सरकारको मुख्य व्यक्ति होइन, नबोलिनुपथ्र्यो, यदि बोलिएको हो भने नेपाल हेपिन तयार छैन, हेपिँदैन भन्ने स्मरण गराउन चाहन्छु ।’