गण्डकी प्रदेशमा थप ३७ जनामा संक्रमण, संक्रमितको संख्या १८८ पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको छ । शुक्रबार विहान स्याङ्जा, पर्वत, तनहुँ र पूर्वी नवलपरासीका थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १८८ पुगेको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाका २२, पर्वतका १३ तथा तनहुँ र पूर्वी नवलपरासीमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू सबै पुरुष रहेका निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।



स्याङ्जाका संक्रमित गल्याङ नगरपालिकाका सबैभन्दा धेरै १८ जना छन् । उनीहरु १५ देखि ६६ वर्ष उमेर समूहका छन् । यसैगरी वालिङ नगरपालिकामा २ जना र अर्जुनचौपारी गाउँपालिकामा ३ वर्षीय एक जना बालकमा पनि कोरोना पुष्टि भएको छ ।

स्याङ्जाकै तर स्थानीय तह नखुलेको अर्का एक जना ४ वर्षीय बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पर्वतको कुश्मा नगरपालिकामा १० जनामध्ये १ जनाको उमेर खुलेको छैन । पर्वतकै पैंयु गाउँपालिका र बिहादी गाउँपालिकामा एक–एकजना संक्रमित फेला परेका छन् । पर्वतकै अर्का एक जना संक्रमितको स्थानीय तह खुलेको छैन ।

तनहुँको घिरिङ गाउँपालिका र पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका एक–एक जना युवकमा पनि कोरोना पुष्टि भएको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेशनमा लाने तयारी भएको जनाइएको छ ।

सम्बन्धित समाचार