

मुक्तिनाथ विकास बैंकले साना तथा लघु बैंकिङ विभागअन्तर्गत यस बैंकमा नियमित रूपमा कारोबार गर्दै आएका ग्राहक सदस्यहरूलाई लगानी गरेको कर्जा रकम ग्राहकहरूले कर्जा संचालन गरिरहँदा सदस्यको मृत्यु तथा संरक्षकको मृत्यु र सदस्यको परियोजनामा आगलागी भई क्षति भएको हुँदा बैंकले छुट्टाछुटै कार्यालयहरूबाट ग्राहक सदस्यहरूको कर्जा मिनाहा, काजक्रिया खर्च तथा आगलागी राहत वितरण गरेको जनाएको छ ।
मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय सल्यानटार, धादिङबाट लघु कर्जा लिएकी कैली दमिनी र महाराजगञ्ज, काठमाडौंबाट लघु कर्जा लिएकी कान्छी मर्हजनको असमायिक निधन भएको हँुदा निजले उपभोग गर्दै आएको कर्जाको साँवा र व्याज तथा काज क्रिया रकम क्रमशः रू १ लाख ८ हजार ७ सय १७ रूपैंया र रू १ लाख १४ हजार ८० रूपैंया मृतककै घरमा गई प्रदान गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी, बैंकको ग्राहक सदस्य धुनिवेसी–७, खानीखोलाकी दुर्गा भण्डारीका श्रीमान्को असमायिक निधन र टोखा–२, बानियाटारकी मैया बानियाको श्रीमान्को असमायिक मृत्यु भएको हुँदा काज क्रिया खर्च वापत जनही रू ५ हजार राहत प्रदान गरिएको पनि जनाइएको छ ।
यसैगरी, बैंकको शाखा कार्यालय धार्के, धादिङबाट लघु कर्जा लिनुभएका राधाकृष्ण कार्कीले संचालन गर्दै आइरहेको कुखुरापालन परियोजना आगलागी भई क्षति पुग्न गएको हुँदा निज सदस्यको परियोजनाको स्थलगत निरीक्षण गरी राहत स्वरूप रू ५ हजार रकम राहत स्वरूप वितरण गरिएका पनि विज्ञप्तिमा उल्लेख छ ।
