प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामको लागि भएको खर्च निकै कम भएको बताएका छन् । सरकारले खर्च गरेको १० अर्बको विवरण देखाउन माग राख्दै बुटवलमा पनि प्रदर्शन भएपछि शुक्रबार मुख्यमन्त्री पोखरेलले आफ्नो फेसबुकमार्फत यस्तो प्रतिकृया दिएका हुन्।
‘अहिले जति खर्च भएको छ त्यो संकटको सापेक्षतामा निकै कम हो। सार्वजनिक भएको हिसाब पनि मोटामोटी अनुमान हो,’ उनले लेखेका छन्, ‘कोरोना परीक्षण र उपचारमा खर्च हुने समय बल्ल सुरु हुँदैछ।’
एक घर एक पिसिआर परीक्षण गराउने हो भने ५० देखि ६० अर्बसम्म खर्च हुने उनले बताए। ‘अहिले नै खर्च बढी भयो भनेर अविश्वास गर्ने अनि एक घर एक पिसिआर परिक्षण गर्नुपर्छ भन्ने माग आउनु विरोधाभाषपूर्ण देखिन्छ,’ उनले भने, ‘एक घर एक पिसिआर परीक्षण गर्दा न्युनतम ५० देखि ६० अर्ब खर्च लाग्न सक्छ।’
उनले थपे, ‘अनि रातारात त्यत्रो खर्चको व्यवस्थापन गर्ने प्राविधिक जनशक्ति र सामर्थ्य हामीसँग छ र ? त्यो असम्भव र अव्यवहारिक कुरा गर्नु हुँदैन।’ हाल खर्चको पारदर्शिताका नाममा उठाइएका मागले जनसमुदायलाई भ्रमित बनाइरहेको समेत उनले आरोप लगाएका छन्।