अमेरिकी अनुदान सहायता प्रस्ताव एमसीसीबारे छलफल गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक आज अपराह्न ४ बजेलाई तय भएको एक सचिवालय सदस्यले जानकारी दिए ।
‘प्रतिनिधि सभाले नयाँ नक्सालाई वैधानिकता दिनेगरी संविधान संशोधन पारित गरिसकेपछिको अवस्था र एमसीसी नै मुख्य एजेण्डा हुनेछन् । एमसीसीबारे आज पार्टीले निर्णय लिइने स्रोतको दाबी छ । कोभिड–१९ विरूद्ध सरकारले गरिरहेको कामको पनि समीक्षा हुनेछ,’ ती सचिवालय सदस्यले भने ।
नेकपाले गत २७ गते पनि सचिवालय बैठक आह्वान गरेको थियो । अमेरिकी अनुदान सहायता प्रस्ताव मिलेनियम च्लालेन्ज कम्प्याक्ट (एमसीसी) नै मुख्य कार्यसूची बनाइएको त्यस दिनको बैठक अन्तिम समयमा स्थगित भएको थियो । सदनमा संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाले बैठक सार्नुपरेको बालुवाटार स्रोत बताउँछ । यद्यपि, अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग सल्लाह नै नगरी बैठक स्थगित गरिएको भन्दै उनी रूष्ट बनेका थिए । साँझ प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम खुमलटार भेलासमेत भएका थिए ।
परियोजना लागु गर्नुपर्ने समय नजिकिँदै जाँदा एमसीसी संसद्ले अनुमोदन गर्ने कि नगर्ने भन्ने विवाद छ । प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री युवराज खतिवडाले एमसीसी संसद्को अङ्ग बनिसकेकाले सदनले पारित गरेमात्र लागु हुने बताउदै आएका छन् ।