सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समिति खारेज गरेको छ । कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारले उच्चस्तरीय समिति खारेज गरेको हो ।
अब समितिले गर्दै आएका कामहरु कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले गर्ने छ । मन्त्री पोखरेल नेतृत्वको समितिले गरेका कतिपय निर्णयहरु विवादित बनेपछि सरकारको समेत आलोचना हुँदै आएको थियो । समितिले ओम्नी ग्रुपलाई बजार भाउभन्दा बढी मूल्यमा औषधि उपकरण खरिद गर्ने जिम्मा दिएपछि त्यसले सरकारको पनि बदनाम गरेको थियो ।
कमिसनका आधारमा निर्णय गरिएको भन्दै सर्वत्र विरोध भएपछि सरकारले ओम्नीसँगको ठेक्का सम्झौता नै खारेज गरेर नेपाली सेनालाई खरिदको जिम्मा दिएको थियो । फागुन १८ गते गठित पोखरेल नेतृत्वको समितिमा नौ जना वरिष्ठ मन्त्रीहरु थिए ।