मेची अस्पताल भद्रपुरको सावधानीका कारण सघन उपचार कक्षमा भर्ना भएका भारतको महाराष्ट्रबाट आएका पुरुषको ज्यान बचेको उक्त अस्पतालका चिकित्सकले बताएका छन् । भारतको पानीट्यांकी नाका हुँदै नेपाल आएका ती पुरुषको काँकरभिट्टामा आरडीटी परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो । त्यसपछि उनलाई मेची बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो ।
स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई मेची अस्पताल भद्रपुर लगिएको थियो । उनको साथमा भारतमा कोरोना भाइरस परीक्षण गरिएको रिपोर्ट भए पनि अस्पतालमा पुनः आरडीटी गरिएको थियो । त्यहाँ पनि रिपोर्ट नेगेटिभ आयो । तर लक्षण कोरोना भाइरस सङ्क्रमणसंग मिल्दोजुल्दो देखेपछि अस्पतालका फिजिसियन डा. गोविन्द कँडेलको टोलीले सघन उपचार कक्षमा भर्ना गरेर पीसीआर परीक्षण गर्नका लागि नमूना पठाइएको थियो ।
उक्त परीक्षणमा पनि सङ्क्रमण लगभग छैन भन्ने प्रयोगशालाले मौखिक जानकारी दिएपछि अस्पताललाई विश्वास नलागेर पुनः नमूना पठाइएको डा। कँडेलले बताए । दोस्रोपटक पठाएको नमूना परीक्षणको रिपोर्टमा सङ्क्रमण पोजिटिभ आएपछि बिरामीलाई सोमबार बेलुका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।
मेची अस्पतालका चिकित्सकका अनुसार बिरामीको शरीरमा अक्सिजनको मात्रा पुगरिरहेको थिएन । डा. कँडेल भन्छन्, ‘ती बिरामीलाई आइसियुमा नराखेको भए उनको ज्यान जान सक्थ्यो। शरीरमा अक्सिजन नै पुगेको थिएन।’
उनलाई भारतमा कोरोना भाइरसको सङ्क्रमण नभएर बाटोमा पनि हुनसक्ने चिकित्सकको भनाइ छ । अहिले उक्त अस्पतालको सघन उपचार कक्ष शील गरिएको छ। त्यहाँ कार्यरत २५ जना भन्दा बढी स्वास्थ्यकर्मी क्वारेन्टिनमा बसेका छन्।
अस्पतालका २ जना फिजिशियन, ३ जना मेडिकल अधिकृत, आइसियुका ८ जना नर्स, ईमरजेन्सी, ल्याबका कर्मचारी, एक्स रेका कर्मचारीसहित २५ जना भन्दा बढी क्वारेन्टिनमा बस्नु पर्ने अवस्था आएको मेडिकल सुपरिटेण्डेट डा। पिताम्बर ठाकुरले बताए।