पहिलो पंक्तिका व्यक्तिलाई १ करोडको निशुल्क बिमा गर्नुपर्ने माग राख्दै कांग्रेसले बुझायो सरकारलाई ज्ञापन

पहिलो पंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुका लागि सरकारले निशुल्क १ करोडको बिमा गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेसले सरकारलाई ज्ञापन पत्र बुझाएको छ । ७७ वटै जिल्ला कार्यसमितिहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पहिलो पंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुको निशुल्क बिमा गर्न माग गरिएको हो ।

कोरोना महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मी, सरक्षाकर्मी र संचारकर्मीहरुको सरकारले प्रतिव्यक्ति एक करोडको बिमा गर्न माग गरेको छ । कांग्रेस जिल्ला कार्यसमिति सभापति सबुज बानियाले सरकार जनसरोकारका समस्या सम्बोधन गर्न असफल भएको बताए ।



सरकार भ्रष्टाचारमा लिप्त भएको, महामारीको समयमा आफ्ना कार्यकर्ता पाल्न सीमित भएको र जनताहरुको समस्या सम्बोधन गर्ने गरी अगाडि नबढेकाले प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाइएको बताए ।

काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले सरकारले १० अर्ब खर्च गरेको सार्वजनिक भइरहँदा महानगरापलिकालाई एक रुपैयाँ पनि प्राप्त नभएको बताइन् । महानगरपालिकाले छुट्याएको १० करोडबाट अहिले प्रत्येक वडाहरुमा राहत वितरणका काम भइरहेको उनले बताइन् ।

कांग्रेस जिल्ला कार्यसमितिले राहत न्यायपूर्ण ढंगबाट वितरण गर्नुपर्ने, शैक्षिक संस्था, औद्योगिक क्षेत्र, होटल व्यवसाय, सम्पूर्ण आर्थिक क्षेत्रको पुनरुत्थानको लागि विशेष कार्यायोजना सहित राहत प्याकेज घोषणा गर्नुपर्ने माग पनि गरेको छ ।

क्वारेन्टाइनको सुधार गर्नुपर्ने पीसीआर परीक्षण बढाउनुपर्ने माग पनि कांग्रेसले गरेको छ ।

सम्बन्धित समाचार