रुकुम पश्चिम घटनामा दाजु र बुबाले मारेको भनी नवराजकी प्रेमिका भनिएकी किशोरीको बयान

गत जेठ १० गते रुकुम (पश्चिम) चौरजहारीमा ६ जनाको ज्यान जानेगरी भएको हत्या प्रकरणमा नवराज विककी प्रेमिका भनिएकी किशोरीले सनसनीपूर्ण बयान दिएकी छन् । घटनापछि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा पेश गरेको अभियोगपत्रमा आफ्नै दाजु र बुबाले नवराज विकसहितका ६ जना युवालाई लखेट्दै र घेरा हाल्दै कुटपीट गरी मारेको पूर्ण विश्वास आफूलाई रहेको बयान दिएकी छन् ।

ती किशोरीले जेठ २७ गते दिएको बयानमा घटना भएको दिन आफू घरमै टिभी हेरेर बसेको पनि भनेकी छन् । उनले घटनाबारे प्रहरीलाई दिएको बयानमा मृतक नवराज बिकले २०७५ साल फागुन महिनामा आफूलाई फेसबुकमा ‘फ्रेण्ड रिक्वेस्ट’ पठाएका र आफूले स्वीकार गरेको पनि बयानमा उल्लेख गरेकी छन् ।



‘२०७७ जेठ १० गतेको दिन म घर कोठामा टिभी हेरिरहेकी थिएँ, मेरो घर नजिक नवराज बिक समेतका केटाहरु आएको अवस्थामा मेरो आमाले गाली पठाउनु भएको रहेछ, सो कुरा आमाले मलाई भनेपछि थाहा पाइ बाहिर आउँदा गाउँका महिलाहरु जम्मा भएका थिए । तर, मैले केटाहरुलाई देखिनँ’, किशोरीले बयानमा घटना भएको दिनबारे यसरी खुलाएकी छन् ।

उनले आफू घटनास्थलमा नगएको र सो दिन दिउँसो केकसो भयो भन्ने पनि आफूलाई थाहा नभएको पनि बताएकी छन् । ‘सोही दिन साँझ डिल्ली मल्ल मेरो घरमा आइ २ जना केटाहरु भेरी नदीमा बगे भन्ने कुरा आमासँग गरेपछि थाहा पाएकी हुँ,’ ती किशोरीले भनेकी छन् ।

‘जेठ ११ गतेमात्रै साथीहरुसँग फेसबुकमा कुराकानी हुँदा नवराज बिकको मृत्यु भएको सुनेको र पछि बुझ्दा आफ्नो बुवा र दाइ समेतले नवराज बिकसमेतलाई लखेट्दै घेरा हाल्दै वारदात स्थानमा पु(याइ ६ जना केटाहरुलाई कुटपिट गरी मारेको पूर्ण विश्वास लाग्छ’, युवतीले बयानमा प्रस्ट भनेकी छन् ।

त्यस्तै उनले मिति २०७७ बैशाख १७ गते राति ८,९ बजे नवराजले अन्य २ जना साथी ल्याई आफ्नो घर नजिकै आएको र आफ्ना बुवा,आमाले वडाअध्यक्ष डम्बर बहादुर मल्ल र विनोद मल्ललाई खबर गरेपछि गाउँलेहरुले नवराजलाई नियन्त्रणमा लिएर राति नै प्रहरीलाई बुझाएको बताएकी छन् । उनले नवराज आफ्नोे घरमा आएर नबस्ने गरेको पनि बताएकी छन् ।

सम्बन्धित समाचार