
सुदूरपश्चिम बाहेक अरु ठाउँमा मनसुन सक्रिय भएको छ । गएको शुक्रबार पूर्वी क्षेत्रबाट नेपाल भित्रिएको मनसुन अहिले कर्णाली प्रदेशमा पुगेको छ । मनसुन सुदूरपश्चिमतर्फ सर्ने क्रममा नै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
माथिल्लो वायुमण्डलमा उच्चचापीय क्षेत्रको प्रभाव देखिएकाले कर्णालीबाट मनसुन अगाडि बढ्न नसकेको मौसमविद् विभूति पोखरेलले बताए । आज प्रदेश १, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहेको छ । त्यस्तै प्रदेश २, वाग्मती, र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ । अहिले काठमाडाैं उपत्यका सहित प्रदेश १ र ५ का केही ठाउँमा हल्का पानी परेको छ ।
आज दिउँसोपख प्रदेश २, वाग्मती, गण्डकी, र कर्णालीमा सामान्य बदली रहने र बाँकी प्रदेशमा पुर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नम्बर ५ मा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहनेछ ।
प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का धेरै ठाउँमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
