आज कुवेत, ओमान र मलेसियाबाट नेपाली स्वदेश फर्कंदै, पूर्व निर्धारित दुई उडान रद्द

आज विहीबार मलेसिया, कुवेत र ओमानबाट नेपाली स्वदेश फर्कंदै छन् । कुवेतबाट आममाफीमा सहभागी १५० जना नेपालीलाई कुवेत सरकारले नै नेपालसम्म ल्याइदिने कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । कुवेतबाट नेपालीलाई लिएर जजिरा एअर काठमाडौं आउनेछ । उनीहरु सबैजनालाई कोरोना जाँचसहित कुवेतले निःशुल्क ल्याइदिनेछ ।

यस्तै ओमानबाट १८० जना नेपाली स्वदेश फर्कने त्यहाँ रहेका नेपाली दूतावासले जनाएको छ । ओमानबाट सलाम एअरले चार्टर्ड उडानमार्फत १८० नेपाली स्वदेश ल्याउन लागेको हो । सलाम एअरले नेपाल सरकारले तोकेकोभन्दा सस्तो भाडादरमा नेपालीलाई काठमाडौं ल्याउँदैछ ।



यस्तै आजै मलेसियाबाट पनि नेपालीहरु स्वदेश फर्कंदै छन् । त्यहाँ समस्यामा परेकामध्ये बिरामी, गर्भवती, जेष्ठ नागरिक लगायतलाई प्राथमिकतामा राखेर दूतावासले आज हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश पठाउन लागेको हो । यो उडानमार्फत फर्कने नेपालीको सङ्ख्या कति छ भन्ने खुलाइएको छैन । मलेसियाको स्थानीय समय अनुसार दिउँसो ३ बजेर २५ मिनेटमा जहाज मलेसियाबाट नेपालका लागि उड्ने छ ।

आज साउदीको रियादबाट नेपाल एअरलाइन्सले उडान भर्ने तालिका भने रद्द भएको छ । आजको सट्टा रियादबाट नेपाल एअरलाइन्सले जुन २१ अर्थात असार ७ गते उडान भर्ने भएको छ । यो उडानमार्फत स्वदेश फर्कने प्राथमिकतामा ४४५ जना नेपाली रहेको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ । प्राथमिकतामा परेका नेपालीको सूची दूतावासले नेपाल एअरलाइन्सको प्रतिनिधिलाई दिइसकेको जनाएको छ । यो उडानमार्फत स्वदेश फर्कनेले कोरोना जाँचको प्रमाण साथैमा राख्नुपर्नेछ ।

सम्बन्धित समाचार