संसदमा नारायणकाजीले भने- ‘तथ्य र प्रमाणसहित लिम्पियाधुरासहितको भूभाग नेपालको भएको पुष्टि गर्न तयार छौं’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका सदस्य नारायणकाजी श्रेष्ठले भारतसँगको वार्तामा नेपाल तथ्य र प्रमाणसहित लिम्पियाधुरासहितको भूभाग नेपालको भएको पुष्टि गर्न तयार रहेको बताएका छन् ।

राष्ट्रिय सभाको बैठकमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको पूर्ण नक्सालाई संवैधानिक मान्यता दिन संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै श्रेष्ठले भारतसँग तथ्य र प्रमाण भए वार्तामा राख्न चुनौती दिए । ‘भारतले सैनिक, प्रहरी सुरक्षाकर्मी फिर्ता जानुपर्छ क्याम्पहरू हटाउनुपर्छ भन्ने हामीहरुको दृढ अडान हो’, उनले भने, ‘वार्तामा बसेर समस्या समाधानका लागि भनिरहेका छौं। कुटनीतिक संवाद नै एकमात्र बाटो हो ।’ ऐतिहासिक तथ्य र प्रमाणका आधारमा मात्रै समस्या समाधान हुने भन्दै श्रेष्ठले निष्कर्षमा पुगेर सम्बन्धलाई थप मजबुत बनाउनेतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे।



‘१८१६ को सुगौली सन्धिले नै काली नदीदेखि पश्चिमको भूभाग छोड्ने भनेको छ अरु होइन’, उनले भने । भारतले जति दाबी गरेपनि सन् १८१६ सुगौली सन्धी नै आधिकारिक र ऐतिहासिक दस्ताबेज भएको भन्दै सबै कुरा त्यसैले प्रष्ट पारिसकेको उनले बताए। श्रेष्ठले आफैंलाई कमजोर हुने हिसाबले कसैले पनि प्रमाण र तथ्य भन्दा बाहिर गएर नबोल्न सुझाव दिए।

सन् १८१६ को सन्धीपछि नेपालको कुनै शासक र सरकारले सन्धी सम्झौता गरेर भारतलाई हस्ताक्षर नगरेको भन्दै उनले त्यसमा सबैले प्रष्ट हुनु जरुरी रहेको धारणा राखे।

सम्बन्धित समाचार