
कुवेतको जजिरा एयरलाइन्स बिहीबार एक सय ५० नेपाली महिला कामदार लिएर नेपाल आएको छ। कुवेतमा अलपत्र नेपाली कामदार लिएर जजिरा नेपाल आएको यो चौथो पटक हो ।
यसअघि पनि उसले चार सय ४८ जना नेपाली कामदार लिएर आइसकेको छ । विमानस्थल स्रोतका अनुसार बिहीबार कुवेतबाट आएको कुवेत एयरलाइन्समा बालबालिका तथा शिशु भने छैनन् । कुवेतमा आम माफी पाएका र अवैधरुपमा बसिरहेका नेपाली कामदारलाई कुवेत सरकार आफैँले पठाइरहेको छ।
कुवेतको डिपोर्टेसन सेन्टरमा रहेका ७० र अस्थायी क्याम्पमा रहेका २ हजार ९ सय २१ जनालाई कुवेत सरकारले पठाइरहेको छ। यसैगरी ओमानबाट सलाम एयरले एक सय १० पुरुष र ३७ महिलासहित एक सय ४७ जना नेपाली लिएर नेपाल आएको छ। यो उडानमा एक जना शिशुसमेत रहेका छन्।
सलाम एयरले ओमानबाट नेपाली यात्रुको उद्धार गरेर ल्याएको यो दोस्रोपटक हो । बिहीबार साँझ हिमालयन एयरलाइन्स मलेसियाबाट नेपाली लिएर आउँदै छ।
