लिम्पियाधुरासम्मको भूभाग नेपालको निशान छापमा समावेश गर्ने नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छिन् । विधेयक संसदको दुबै सदनबाट पारित भइ प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश भएको थियो ।
राष्ट्रिय सभाबाट विहीबार पारित भएको विधेयक प्रतिनिधि सभाबाट ३१ जेठमा पारित भएको थियो । यसअघि राष्ट्रिय सभाबाट संविधान संशोधन विधेयक, २०७७ सर्वसम्मतिले पारित भएको थियो ।
राष्ट्रिय सभाको बिहीबार बसेको बैठकले अतिक्रमित भूमि समेटिएर तयार पारिएको नयाँ नक्सा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छापमा समावेश गर्न ल्याइएको संशोधन विधेयक पारित गरेको हो ।
विधेयक पारित गर्न राष्ट्रिय सभामा तत्काल कायम रहेको पूर्ण सदस्यको दुईतिहाइ आवश्यक थियो । यसका लागि विहीबार मतदान भएको थियो । बैठकमा ५७ जना सदस्य उपस्थित रहेका थिए । मतदानका क्रममा विधेयकको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा राष्ट्रिय सभाका ५७ जना सदस्यले नै मतदान गरे ।
विपक्षमा शून्य मत रह्यो । राष्ट्रपतिले मनोनीत गर्ने एक पद रिक्त रहेको छ भने मतदानमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी भएनन् ।
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतको भूभाग समेटेर ७ जेठमा नयाँ नक्सा जारी गरेको थियो ।