टीकाथलीका पुरुषमा कोरोना पुष्टि, ललितपुरमा संक्रमित संख्या पाँच पुग्यो

चितवन जिल्ला रत्ननगर घर भई हाल महालक्ष्मी नगरपालिका –५ टीकाथली बस्ने ५० वर्षीय पुरुषमा विहीबार कोरोना संक्रमण पुष्टि भएको छ। केही दिनअघि उनको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले ती व्यक्तिको पाँच महिनाअघि भक्तपुर अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको र कोखा दुख्ने समस्या रहेको जानकारी दिए।



हालसम्म ललितपुरका पाँच जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये एक पुरुषको मृत्यु भएको छ।

यता काठमाडौंमा विहीबार दुईजना कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये एकजना काठमाडौंको तीनकुनेकी ३४ वर्षीया महिला हुन्। उनी असार १ मा उपचारका लागि त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल गएकी थिइन् । त्यहाँ शंका लागेपछि उनको नमुना लिएर परीक्षण गर्दा कोरोना देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार उनको ट्राभल हिस्ट्री छैन । अहिले उनलाई पाटन अस्पतालको आइसोलसनमा भर्ना गरिएको छ।

अर्का संक्रमित बूढानीलकण्ठ नगरपालिकास्थित बालुवा खानीका ४५ वर्षीय पुरुष रहेका छन् । उनी त्यहाँ किराना पसल सञ्चालन गर्दै आएका थिए। मन्त्रालयका सह–प्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार उनको हाल सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित समाचार