नवकान्तिपुर संवाददाता
काठमाडौं, असार ५ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरूबीच हुने भर्चुअल संवादबारे नेकपा नेताहरूलाई नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सुझाव दिएका छन् । प्रवक्ता शर्माले ट्वीट गर्दै कलम कापी लिएर नेकपाका कमरेडहरूले कोरोनाबारे केही सिकिदिए नेपालीको हित हुने सुझाव दिएका छन् ।
साथै उनले चीनसँग नेपालले सिक्नुपर्ने प्रधान कुरा ‘कोरोना विशेष रणनीति’ र संवादको विषय लिपुलेक भएको उल्लेख गरेका छन् । उनले ट्वीटमा लेखेका छन् ‘चीनसँग नेपालले सिक्नुपर्ने प्रधान कुरा कोरोना विशेष रणनीति र संवादको विषय लिपुलेक हो । कलम कापी लिएर नेकपाका कमरेडहरूले कोरोनाबारे केही सिकिदिए नेपालीको हित हुनेछ । उनले अगाडि लेखेका छन् ‘नेपालको नयाँ नक्सा लिएर सन् २०१५ को बेइजिङ सम्झौता गलत थियो सम्झाइदिए, नेपालीको जीत हुनेछ ।’
चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग, चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत स्वशासित क्षेत्र कमिटी र नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय पार्टी स्कूल विभागको संयुक्त संयोजनमा यस्तो कार्यशाला निश्चित गरिएको हो । बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टी, अन्तर्राष्ट्रिय विभागका नेताहरूले नेपालका कम्युनिस्ट नेताहरूलाई आफ्ना अनुभव प्रस्तुत गर्नुका साथै सुशासनका लागि पार्टीको अनुशासन, भ्रष्टाचार विरूद्धको शून्य सहनशीलता, समसामयिक विश्व परिस्थितिलगायतका विषयमा प्रशिक्षण दिने बताइएको छ ।
