यही असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन लाग्ने सूर्यग्रहण हालै नेपालले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुराबाट ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने छ । लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट नेपालमै सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने वरिष्ठ खगोलविद् एवं वाल्मीक विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यले जानकारी दिए। काठमाडौंबाट भने ८८ प्रतिशतसम्म सूर्य ढाक्ने छ ।
यो ग्रहण वलय (पुरै सूर्य ढाक्ने) सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास (आधा ढाक्ने)मात्र देख्न सकिने छ । ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिने उनले सुनाए ।
चन्द्रग्रहण हेर्दा आँखामा कुनै असर गर्दैन भने पनि सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्छ । मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ । आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रुपमा नै नष्ट हुन गई मानिस सदाका लागि अन्धोसमेत हुन सक्छ । सूर्यग्रहण नाङ्गो आँखाले कहिले पनि हेर्नु हँदैन । सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनु पर्छ ।
ग्रहण हेर्न बनाइएको बिशेष चस्माको प्रयोग गरी ग्रहण हेरेमा कुनै नोक्सानी हुन्न । सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका सूर्यविम्बको प्रतिविम्ब बनाई छाया हेर्नु नै हो । ग्रहणका बेला दान दक्षिण गर्दा विशेष फल मिल्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउछन् । नदी तट वा गङ्गामा गई ग्रहणको स्नान गरी शुद्घ हुने गर्दछन् ।
तान्त्रिकहरु मन्त्र सिद्घ गराउनका निमित्त ग्रहण लागेको समयलाई उपयुक्त मान्छन् । यसैले ग्रहणका समयमा मन्त्रको साधना समेत गर्दछन् । ग्रहणसम्बन्धी अन्धविश्वास संसारभरी नै रहेको पाउन सकिन्छ । रोमनहरु ग्रहणका बेला चिच्याउने गर्दछन् भने चीनमा ग्रहण र ड्र्यागन सँगको सम्बन्धमा विश्वास गर्दछन् । प्राचीन मिश्रका राजा आफैँ सूर्यवंशी थिए । सूर्यग्रहणका बेलामा उनी शहरको मुख्य मन्दिरमा परिक्रमा गरिरहन्थे भन्ने इतिहास भेटिन्छ ।
सूर्यग्रहण नेपालमा बिहान १०ः५५ देखि शुरु भई अपराह्न २ः२४ बजे समाप्त हुने छ । मध्याह्न १२ः०४ बजे सूर्यलाई करीव ८८ प्रतिशत ढाकेको देखिने छ । ग्रहणका समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुनेछ । त्यसदिन दुईपटक बिहान भएको पो हि कि भन्ने जस्तो महशुस हुने खगोलविद् आचार्यले बताउछन् ।
धर्मशास्त्रअनुसार सूर्यग्रहण मेष, सिंह, कन्या एवं मकर राशि भएका मानिसले मात्र हेर्न हुने समितिका सदस्य सचिव तथा पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताए । वैज्ञानिक मतमा भने सूर्यग्रहण जो सुकैले सुरक्षित तरिका अपनाएर हेर्न हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराई बताउछन् ।
साधारण मानिसका लागि ग्रहण एउटा अनौठो तथा असाधारण घटना हो । खगोलविद्का लागि यस्तो घटना आफ्नो गणित जाँच्ने सुनौलो अवसर हो । वैज्ञानिक तथा खगोलविद् सूर्य, चन्द्र तथा पृथ्वीको सही दूरी मापन गर्न ग्रहणको उपयोग गर्दछन् । साना बालबालिकाका लागि विज्ञानमा रुचि पैदा गराउन यस्ता घटना उपयोगी हुन्छन् । नेपालबाट करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिन्छ ।
कहाँबाट हेर्न सकिन्छ सूर्यग्रहण
सूर्यग्रहण हेर्न चाहनेलाई तक्षशिला एष्ट्रोनोमिकल क्लबले सामाखुसीस्थित कलेजको छतबाट निःशुल्क तथा सुरक्षित तरिकाबाट भौतिक दूरी कायम गरी हेर्ने व्यवस्था मिलाएको जनाएको छ । यसैगरी नेपाल एष्ट्रोनोमिकल सोसाइटीले बत्तीसपुतलीस्थित कार्यालयबाट युट्युब च्यानलमार्फत् सूर्यग्रहणको प्रत्यक्ष प्रसारण गर्नेछ ।
शनिबार साँझ ७ः०० बजे सूर्यग्रहण विषयमा जिज्ञासा हुनेले सोसाइटीका विज्ञसँग प्रश्न राख्न सक्ने अध्यक्ष भट्टराईले बताए। सूर्यग्रहणका विषयमा जिज्ञासा हुनेले शनिबार साँझ सोसाइटीको प्रत्यक्ष सामाजिक सञ्जाल पेजमार्फत् प्रत्यक्ष प्रसारणका बेला प्रश्न राख्न सक्ने छन् । प्रश्न ‘आस्क नासो हस्टेज’मा राखेर सामाजिक सञ्जालमा पोष्ट गर्न सकिने सोसाइटीले जनाएको छ ।
नगर्नुहोस् यी काम
ज्योतिष शास्त्रमा ग्रहणको समय अशुभ मानिन्छ । ग्रहणको समयमा धेरै कामहरु गर्न निषेध गरिएको छ । जस्तैस् कैँचीको प्रयोग, फलफूल टिप्नु, कपडा धुनु, दाँत माझ्नु, गाइभैँसी दुहुनु, भोजन गर्नु, सहवास गर्नु, यात्रा गर्नु, सुत्नु, रुख काट्नु आदि जस्ता कार्य ग्रहणको समयमा गर्नु हुँदैन ।
गर्भवती महिलाले त झन् आराम गर्नुपर्दछ र ग्रहण हेर्नु हुँदैन । ग्रहण हेरेमा गर्भको बच्चामा नकारात्मक प्रभाव पर्ने बताइन्छ । वैज्ञानिक अनुसन्धानअनुसार पनि ग्रहणको समयमा वातावरणमा नकारात्मक ऊर्जा प्रवाह हुन्छ । जसका कारण नराम्रा कीटाणुहरुको सङ्ख्या धेरै बढ्छ । त्यसकारण भोजन नगरी बस्न सक्नेहरुले ग्रहणको समयमा भोजन नगर्नु नै राम्रो हुन्छ ।
ग्रहणको समय अगाडि नै पाकेका सामग्रीहरुमा तुलसी पत्र र कुश राख्नाले ग्रहणको समयमा निस्किने किटाणुहरुको प्रभाव निकै कम पर्दछ भन्ने पूर्वीय ग्रन्थहरुको मान्यता छ । पूर्वीय धर्मग्रन्थहरु मत्स्य पुराण, नारद पुराण, भागवत, वेद आदिमा ग्रहणको निकै चर्चा गरिएको पाइन्छ ।