नवकान्तिपुर संवाददाता
काठमाडौं, असार ६ ।
त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले हालै एक विज्ञप्ति प्रकाशन गरी चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा डा. दिव्यासिंह शाहको नियुक्तिको विषयलाई लिएर गम्भीर असहमति र आपत्ति जनाएको छ ।
प्राध्यापक संघका सभापति डा. वसन्त ढकाल तथा महासचिव केशवराज शर्माद्वारा संयुक्त रूपमा हस्ताक्षरित विज्ञप्तिमा ‘हालै मात्र चिकित्साशास्त्र अध्ययन संस्थानको डीनलगायत विभिन्न निकायमा गरिएको नियुक्तिले प्राध्यापक संघ र पदाधिकारीहरूबीच भएको बैठक तथा संवादहरू पटकपटक वरिष्ठता र पूर्ण कार्यकालको मापदण्डलाई कडाइका साथ लागु गरिने छ भन्ने सहमतिको उल्लंघन भएको’ उल्लेख गरिएकाो छ ।
‘यस्ता खालका गम्भीर प्रकृतिका त्रुटिहरूले निरन्तरता पाउँदै जाने हो भने विश्वविद्यालयको गरिमा र यसभित्र कार्यरत प्राध्यापकहरूको मनोबल घट्न गई प्राध्यापन क्षेत्रकै मानमर्दन हुने’ विज्ञप्तिमा उल्लेख गरिएको छ तथा संघले निर्णय भएका गल्तीहरूलाई सच्याउन त्रिभुवन विश्वविद्यालयसँग जोडदार माग पनि गरेको छ ।
चिकित्साशास्त्र अध्ययन संस्थानमा प्रचलित नियमविपरीत भएको शाहको नियुक्तिलाई लिएर सरोकारवाला क्षेत्र, प्राज्ञिक वर्ग र सामाजिक सञ्जालहरूमा पनि विरोधका स्वरहरू मुखरित भएका छन् । नेकपा निकट विद्यार्थी संगठनले निर्णय नसच्याएसम्म नखोल्ने भन्दै आईओएसको कार्यालयमा ताला नै लगाइदिएको छ ।
राजनीति पहुँचका आधारमा नियुक्ति गर्न नहुने र वरिष्ठतालाई बनाउनु पर्ने भनी पद्दति स्थापनाका लागि पटकपटक सत्याग्रह गर्ने डा. गोविन्द केसीलाई साथ दिएकी डा. शाह नै हिजो आफैंले बसाउन खोजेको पद्दति मिचेर डीन नियुक्त भएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकका रूपमा सेवारत शाह वरियता क्रममा ३३ औं स्थानमा रहे पनि प्रधानमन्त्रीको निकटताका कारणले नै डीन नियुक्त हुन सफल भएकी हुन् भनिएको छ ।
यस सम्बन्धमा त्रिवि प्राध्यापक संघका सभापति डा. वसन्त ढकालसँग प्रतिक्रिया लिन खोज्दा उनले भने– ‘सर्च कमिटी गठनदेखि नियुक्ति सिफारिस प्रक्रिया सबै नियमविपरीत छ । यो नियुक्ति डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौताको पनि विपरीत छ । यसले पद्दतिको धज्जी उडाएको छ ।’