
कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाई गरेको भन्दै क्वरेण्टीनमा बसेकाहरु आन्दोलनमा उत्रिएका छन् । घोराही उपमहानगरपालिका–१८ मा रहेको रझेना माध्यामिक विद्यालयको क्वरेण्टीनमा बसेकाहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रिपोर्ट दिन ढिलाई गरेको भन्दै प्रतिष्ठानको गेटमै आन्दोलन गरेका हुन् । स्वाब संकलन गरेको दुई हप्ताभन्दा बढी समय बित्दा पनि कोरोना परीक्षणको रिपोर्ट नआएको भन्दै उनीहरुले सोमबार साँझ प्रतिष्ठानको गेटसम्म पुगेर नाराबाजी गरेका थिए ।
‘कि हामीलाई रिपोर्ट दे, कि घर जान दे’, ‘मान्छेलाई पशुसरह व्यवहार नगर’, क्वरेण्टीनलाई व्यवस्थीत गर’, ‘समस्या समाधानका लागि वडाध्यक्ष पहल गर’ भन्दै नाराबाजी गरेका थिए । भारतबाट फर्किएको महिना दिनभन्दा बढी समय क्वरेण्टीनमा बस्दा पनि कोरोना परीक्षणको रिपोर्ट नदिएको भन्दै ४० देखि ५० जनाको समूह आन्दोलन गर्दै प्रतिष्ठानको गेटसम्म आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता सुमित खड्काले बताए ।
रझेनामा रहेको क्वरेण्टीनबाट निस्केर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट आइपुगेका उनीहरुलाई प्रहरीले सम्झाई बुझाई गरेर पुनः क्वरेण्टीनमा पठाएको समेत उनले बताए । आफूले सम्झाई बुझाई गरे पनि उनीहरु नमानेर प्रतिष्ठान गएको घोराही उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष भरतमणि अर्यालले बताए ।
