नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। नेकपाले बोलाइएको स्थायी कमिटीको बैठकको विषयलाई लिएर आज प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच अहिलेको अवस्थामा देखा परेको विभिन्न समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। ‘उहाँहरुको भेटवार्ता सकिसकेको छ। अहिले उहाँहरूबीच छलफल गर्नुपर्ने विषयबस्तु धेरै छन्। तीनै विषयमा छलफल गर्नुभएको हो’ उनले भने ।
नेकपाले बुधबार स्थायी कमिटीको बैठक बोलाएका छ । स्थायी कमिटीको बैठकको एजेन्डाका विषयमा छलफल गर्नका लागि ओली र दाहालबीच भेटवार्ता भएको बुझिएको छ । उनीहरुबीच बैठकका एजेण्डा र एमसीसीबारे सहमति भएको छ । एमसीसीबारे स्थायी कमिटीको निर्णयअनुसार अगाडि बढ्ने सहमति २ अध्यक्षबीच भएको स्रोतको दाबी छ ।
नेकपाभित्र पछिल्ला दिनमा एकपछि अर्को विवाद सिर्जना हुदै आएको छ । प्रधानमन्त्री ओलीले बैशाख ८ गते पार्टी विभाजन सम्बन्धी दुई अध्यादेश जारी गरेपछि विवाद उत्कर्षमा पुगेको छ । त्यही बिषयलाई लिएर २० स्थायी कमिटी सदस्यहरुले बैठकको माग गर्दै आएको थिए।
प्रधानमन्त्री ओलीले आफुविरुद्ध घेराबन्दी भएको ठहर गर्दै बैठक छल्ने प्रयत्न गरिरहे। यसअघि बोलाइएको स्थायी कमिटीको बैठक दुइपटक स्थगित भइसकेको छ। बुधबार लागि बोलाइएको एजेण्डा तय गर्नका लागि छलफलकै चरणमा रहेको नेकपा महासचिव बिष्णु पौडेलले जानकारी दिए। नेकपाभित्र पछिल्लो समय अमेरिकी परियोजना एमसीसी तीव्र विवाद छ। बैठकमा मुख्य गरी एमसीसी, सीमा विवाद, कोरोना भाइरस, सरकार र पार्टी नेतृत्व कार्य असन्तुष्टि, भ्रष्टाचार र अनियमिता लगायतको बिषयमा छलफल हुने बुझिएको छ।