‘कोरोना भाइरसले अमेरिकालाई घुँडा टेकायो’

कोरोना भाइरसले अमेरिकालाई ‘घुँडा टेकाएको’ सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ९सिडिसी० का निर्देशकले बताएका छन् । सिडिसीका निर्देशक रोबर्ट रेडफिल्डले बुधबार संसदीय समितिको सुनुवाईको क्रममा यस्तो बताएका छन् । रेडफिल्डले भने, ‘कोरोना भाइरसँग जुध्नका लागि हामी सबैले सकेसम्मको राम्रो प्रयास गरेका छौँ । तर सत्य यहि हो कि कोरोना भाइरसले यो देशलाई घुँडा टेकायो ।’

एउटा सानो भाइरसका कारण ७० खर्ब डलर भन्दा बढीको नोक्सानी हुन सक्ने पनि उनले बताए । रेडफिल्डसहितका शीर्ष स्वास्थ्य अधिकारीसँग संसदीय समितिले महामारीमा अमेरिकाको कामबारे छानबिनका क्रममा बयान लिएको हो ।



मंगलबार भएको सोही सुनुवाईको क्रममा नेशनल इन्स्टिच्यूड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिजका निर्देशक डा. एन्थोनी फाउचीले अबको केही दिन कोरोना भाइरसको नयाँ महामारी नियन्त्रणका लागि अति महत्वपूर्ण हुने बताएका थिए । लकडाउनसहितका उपायहरुमा छुट दिइएका बेला अमेरिकाका केही राज्यमा पछिल्ला दिनमा संक्रमण र गम्भीर बिरामी परेर अस्पताल भर्ना हुनेहरुको संख्या बढिरहेको छ ।

कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म कोभिड–१९ बाट एक लाख २० हजार भन्दा बढीको ज्यान गइसकेको छ ।

सम्बन्धित समाचार