
नेपाल–चीन सीमास्तम्भमध्ये दोलखाको उत्तरी भूभागको कोर्लाङपारि पर्ने पिलर नम्बर ५७ गायब भएको छ । नापी विभागले सन् १९९२ मा प्रकाशन गरी सन् १९९६ मा फिल्ड प्रमाणीकरण गरेको स्थलरुप नक्सा (ट्रोपोम्याप) मा उक्त पिलर गायब पाइएको हो । बिगु गाउँपालिका–१ लामाबगर उता कोर्लाङपारिमा रहेको यो पिलरको अवस्थितिबारे नेपाल र चीनको धारणा बाझिएपछि नक्साबाट हटाइएको हुन सक्ने जानकार बताउँछन् ।
नेपाल–चीन सीमामध्ये दोलखामा पाँच सीमास्तम्भ छन् । समुद्री सतहबाट ४ हजार २ सय मिटर उचाइको कोर्लाङपारिमा पिलर नम्बर ५५ र ५६ छन् । यी दुई पिलर तामाकोसी नदी वारि र पारि पाइएको छ । करिब ४ हजार ४ सय मिटर उचाइको उवाबारीनजिक पिलर नम्बर ५८ र ५९ छन् । यी पिलर लप्चे खोला किनाराको वारि र पारि पाइएको छ । बिगु–१ लामाबगरको उपल्लो गाउँ लप्चीका बासिन्दा भन्छन्, ‘सीमास्तम्भ नेपालतिर सार्न चीनका सेनाले बेला–बेला दु:ख दिने गरेका छन् ।’
विभागका सूचना अधिकारी एवं योजना शाखाका निर्देशक दामोदर ढकालले नक्सामा भएरनभएको त्यति जानकारी नभएकाले थप बुझ्ने बताए । पिलर नम्बर ५७ को विषयमा चीन र नेपालको धारणा फरक–फरक रहेको सूचना अधिकारी ढकालको भनाइ छ । उनले भने, ‘आधिकारिक कागजात खोज्ने, फिल्डमा जाने, प्रमाणीकरण गर्ने काम भइरहेका छन् ।’
सोही स्तम्भ निरीक्षणका लागि प्रत्येक वर्ष दोलखाबाट सरकारी टोली पुग्छ । सेल्फी खिचेर फर्किनुबाहेक सीमास्तम्भको खोजीबारे केही लेखापढी गरिँदैन । जिल्ला प्रशासन कार्यालयमा ६ वर्षदेखिको दर्ता तथा चलानी किताबमा सीमास्तम्भ खोजीका लागि कुनै पनि लेखापढी भेटिएन ।
