
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालत उपस्थित हुन आदेश गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कोरोना भाइरस संक्रमण, विदेशमा अलपत्र नागरिकहरुको उद्धारलगायत सात वटा सार्वजनिक सरोकारको रिटमा दिएको आदेश कार्यान्वयनबारे जवाफ दिन सर्वोच्च उपस्थित हुन आदेश दिएको हो ।
अदालतबाट भएका आदेश पालना नभएको भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको रिटमा सर्वोच्चले बुधबार यस्तो आदेश जारी गरेको हो। शर्माले प्रधानमन्त्री ओली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत अन्य सरोकारवालालाई विपक्षी बनाएका थिए। सर्वोच्चले अदालतको आदेश प्राप्त भएको मितिले १५ दिनभित्र आफै उपस्थित हुन भनेको छ। सर्वोच्चले आफै उपस्थित हुन नसकेमा आफ्नो कानुनी प्रतिनिधित्व मार्फत लिखित जवाफ पेश गर्न भनेको छ।
यसअघि अदालतबाट जारी भएका विभिन्न सातवटा अन्तरिम आदेशको कार्यान्वयनको अवस्था पेश गर्न पनि सर्वोच्चले भनेको छ। सर्वोच्चले कोरोना भाइरसले सृजना गरेको विषम परिस्थिति र नेपाली नागरिकहरुको सम्मानपूर्वक बाँच्न पाउने, स्वास्थ्य सेवामा समान पहुँच र व्यक्तिको जिउज्यान समेतको रक्षा सरकारबाट अपेक्षा गरेको उल्लेख छ।
