मेलम्चीको पानी काठमाडौं ल्याउन एक वर्ष थप ढिलाइ हुने

मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउन थप ढिलाइ हुने देखिएको छ । असार मसान्तसम्म कार्य सम्पन्न गरी सुरुङ परीक्षण गर्ने भनिए पनि प्राविधिक कारणले सम्भव नदेखिएको हो । कोरोनाको बन्दाबन्दी सुरु भएपछि झन्डै ७५ प्रतिशत कामदार घर फर्किनु, आपूर्ति व्यवस्था सहज नहुनु र वर्षायामको समय भएकाले अझ एक वर्ष लाग्नसक्ने अनुमान गरिएको छ ।

प्रतिनिधि सभा विकास तथा प्रविधि समितिको बुधबारको बैठकमा सो अनुमान गरिएको हो। बैठकमा खानेपानीमन्त्री बिना मगरले असार मसान्तसम्म मेलम्ची खानेपानी आयोजनाको भौतिक संरचना निर्माणको काम सम्पन्न गरिसक्ने बताइन । बैठकमा सांसदले मेलम्चीको पानी कहिलेसम्म काठमाडौँ आउन सक्छ भन्ने जिज्ञासा राखेका थिए। पटकपटक मिति सरेको हुँदा राष्ट्रिय गौरवको आयोजना भए पनि मेलम्ची आउने कुरामा मान्छेले विश्वास गर्न छाडेकोसमेत बैठकमा चर्चा भएको थियो।



सोही मन्त्रालयका सचिव माधव बेल्बासेले भौतिक संरचना निर्माण सम्पन्न भइसकेपछि पनि सुरुङमा पानी परीक्षण गर्न कम्तीमा दुई महिना लाग्ने बताए । सुरुङमा पानी परीक्षण प्राविधिक रूपमा जटिल काम भएको उनको भनाइ छ। परीक्षणसहित एक वर्षभित्र सबै काम सकिने सचिव बेल्बासेले बताए । बैठकमा मेलम्ची खानेपानी विकास समितिका महानिर्देशक तिरेशप्रसाद खत्रीले आयोजनाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

सम्बन्धित समाचार