
गत जेठ ९ गते भारतबाट फर्केर क्वारेन्टाइन बसाइपछि घर गएका एक व्यक्तिको मृत्यु भएको छ । डडेल्धुरा जिल्लाको क्वारेन्टाइन बसेर घर गएका अजयमेरु गाउँपालिका–५ का २६ वर्षीय पुरुषको मृत्यु भएको हो । ती पुरुषको गएराति घरमा मृत्यु भएको अजयमेरु स्वास्थ्य शाखाका प्रमुख हिक्मत खडायतले पुष्टि गरे ।
गाउँपालिको वडा नम्बर ५ गाल नजिकैको क्वारेन्टाइनमा १४ दिन बसेपछि उनीसँगै आएका १९ जनाको आरडीटी गरिएको थियो । आरडीटी रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाएको केही दिनपछि मृत्यु भएको स्वास्थ्य शाखाका प्रमुख खडायतले बताए ।
उनमा कोरोना भाइरसको कुनै लक्षण नदेखिएकाले पीसीआर नगरी आरडीटी मात्रै गरेर घर पठाएको थियो। स्थानीयले उनको परम्परागत रुपमा दाहसंस्कार गरिसकेको जनाएका छन् । अजयमेरु गाउँपालिका–५ मा अहिलेसम्म कोराना संक्रमण देखिएको छैन ।

