नेकपाको स्थायी कमिटिको बैठक बालुवाटारमा सुरु

बुधबार दुई अध्यक्षले बोलेसँगै स्थगित गरिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक सुचारु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेपछि सुरु भएको बैठकमा सदस्यहरुले पेश गरिएको एजेण्डामाथि धारणा राख्ने क्रम सुरु भएको छ ।

स्थायी कमिटि बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध खरो आलोचनामा उत्रने तयारी नेताहरुले गरेका छन् । सरकार र पार्टी सञ्चालनमा मनपरी गरेको निष्कर्षसहित नेताहरुले ओलीविरुद्ध खनिने रणनीति तय गरेका हुन् । अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सदस्यहरुले सरकारको काम कारबाही र ओलीको पार्टी सञ्चालनबारे चर्को आलोचना गर्ने रणनीति तय गरेका नेताहरुले बताएका छन्।



दाहाल र नेपाल पक्षले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री मध्ये एक पद छाड्न दबाब दिने स्रोतले बताएको छ । बुधबारको बैठकमा अध्यक्षद्वय ओली र दाहालले एक अर्काप्रति अविश्वास र असन्तुष्टि व्यक्त गरेका थिए । दुवै अध्यक्षले पार्टी व्यवस्थित हुन नसकेको स्वीकार गर्दै एकले अर्कालाई असहयोग गरेको आरोप लगाएका थिए ।

ओलीले सरकारले राम्रो काम गर्दागर्दै पनि पार्टी भित्रैबाट असहयोग र आलोचना भएको बताएका थिए भने दाहालले सहमतिका साथ पार्टी र सरकार सञ्चालन गर्ने सहमति तोडिएको बताएका थिए ।

अध्यक्ष दाहालले आलोपालो प्रधानमन्त्री बन्ने सहमति छाडेर गल्ती गरिएको हो कि भन्ने महसुस आफूलाई भइरहेको बैठकमा बताएका थिए ।

सम्बन्धित समाचार