नवकान्तिपुर संवाददाता ।
काठमाडौं, १२ असार

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बुधबारबाट सुरू भएको छ । बुधवारको बैठकमा अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी शुक्रवार बस्ने गरी सकिएको थियो । त्यही अनुरूप नेकपा स्थायी कमिटी बैठक शुक्रबार पनि जारी नै छ ।
सत्तारूढ दल नेकपाभित्र मात्रै नभएर समग्र राष्ट्रिय राजनीतिक वृत्तमा अहिले गर्मागर्मी बहसको विषय बनेको छ– अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) । पछिल्लो समयमा एमसीसीलाई खारेजीको माग गर्दै सडक र सामाजिक सञ्जालमा पनि व्यापक विरोध भइरहेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी स्थायी कमिटी बैठकमा तय भएका सातवटा एजेण्डाहरूको चौथो बुँदामा एमसीसीलाई समेटिएको छ ।
सरकारी अधिकारीका अनुसार अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) असार १६ गतेसम्म संसदबाट अनुमोदन भइसक्नुपर्ने बताइरहेका बेला त्यो समय सीमाभित्र भने सम्भव देखिएको छैन । किनभने प्रतिनिधिसभाको अर्को बैठक असार १७ गते बस्ने भन्ने तय भइसकेको छ । त्यसकारण पनि सरकार एमसीसी संसदबाट पारित गर्ने म्याद थप्ने पक्षमा देखिन्छ । बुधवार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी समकक्षी माइकल आर पोम्पेओबीच भएको टेलिफोन कुराकानीलाई पनि एमसीसीसँगै जोडेर हेरिएको छ ।
एमसीसीबारे नेकपामा फरक मत
एमसीसीलाई संसदबाट पारित गर्न ढिलाई गर्न नहुने पक्ष प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई साथ दिए पनि यस विषयमा नेकपाभित्र भने पक्ष र विपक्षमा मत बाझिएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी संसदबाट पारित गराउने गरी अन्तिम गृहकार्यमा जुटिरहेका बेला दाहाल–नेपाल समूहले एमसीसी संशोधन नगरी पारित गर्न नहुने अडान राख्दै आएका छन् । वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको तीन सदस्यीय कार्यदलले चार महिनाअघि बुझाएको प्रतिवेदनमा पनि सोही कुरा उल्लेख गरिएको छ । तर, प्रधानमन्त्री ओली भने कुनै पनि हालतमा एमसीसी तुहाउने पक्षमा छैनन् ।
अप्ठ्यारोमा ओली
नेकपाका नेताहरूका अनुसार स्थायी कमिटीमा स्पष्ट रूपमा अल्पमतमा रहेका प्रधानमन्त्री ओली केही समयअघि प्रतिपक्ष दल कांग्रेससँग मिलेर एमसीसीअघि बढाउने पक्षमा पनि पुगिसकेका थिए । तर त्यसो गर्दा पार्टीको निर्णय विपरीत पनि हुने र त्यसले झनै नेकपाभित्र विवाद सिर्जना भएर पार्टी बिघटनसम्म पुग्ने खतरा भएकाले ओलीले उक्त कदमबाट पछि हट्नु परेको बुझिएको छ । यता स्थायी कमिटीमा अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बुहमत देखिएकोले पनि प्रधानमन्त्री ओलीलाई अप्ठ्यारो परेको हो ।
स्थायी कमिटी बैठकमा ओली किन अनुपस्थित ?
शुक्रवार बलुवाटारमा जारी नेकपा स्थायी कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओली अनुपस्थित छन् । बालुवाटारमै अन्य काममा व्यस्त भएकाले स्थायी कमिटी बैठक सञ्चालनको जिम्मा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिइएको बुझिएको छ । शुक्रवारको बैठकमा एजेण्डाहरूमाथि नेताहरूले आआफ्ना धारणा राख्ने क्रम रहेको छ । सरकार र पार्टीमा कामको समीक्षासहित अधिकांश एजेण्डा प्रधानमन्त्री ओलीसँग सम्बन्धित रहे पनि ओली भने बैठकमा अनुपस्थित भएका हुन् । यसअघि पुसमा बसेको धुम्बाराहीको स्थायी कमिटी बैठकमा पनि प्रधानमन्त्री ओली अनुपस्थित भएका थिए । तर स्थायी कमिटी बैठकमा सरकार र पार्टी सञ्चालनका विषयमा अध्यक्ष तथा प्रधानमन्त्री आलीले आफूमाथि प्रश्नहरू उठ्ने देखिए पछि बैठकबाट भाग्न खोजेको आरोप अर्को पक्षले लगाएको छ ।

