
दाङमा सडकमा मागेर हिँड्ने एक महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ ट्राफिक चोकमा बस्दै आएकी अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको दुई दिनपछि उनमा कोरोना पुष्टि भएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण रिपोर्टको नजिता शुक्रबार पोजेटिभ आएको हो । जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काका अनुसार असार १० गते बेलुका साढे ७ बजेतिर अन्दाजी ३५ वर्षीया ती महिलालाई प्रतिष्ठानको गेट नजिकैको ट्राफिक चोकबाट उद्धार गरी उपचारको लागि प्रतिष्ठानमा लगिएको थियो।
सडकमा मागेर खाने ती महिला विरामी भएको भन्ने सर्वसाधारणको जानकारी पछि वडाध्यक्ष रमेश पाण्डेलगायतले उद्धार गरी प्रतिष्ठान पुर्याएका थिए । प्रतिष्ठान लगेको डेढ घन्टामै उनको उपचारका क्रममा मृत्यु भएको थियो।

