रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अझै १६ वर्षसम्म शक्तिमा रहन पाउने गरी जनमत आएको छ । झन्डै एक साता लामो मतदानपछि बिहीबार सार्वजनिक नतिजाअनुसार राष्ट्रपति पुटिन सन् २०३६ सम्म उक्त पदमा निरन्तर रहनेछन् ।
पुटिनलाई लामो समय शक्तिमा राख्ने गरी बनाइएको नयाँ संवैधानिक व्यवस्थाको पक्षमा ठूलो मत परेको हो । नयाँ मतादेशले रुसको संविधानमा केही संशोधन भएको छ । मतदानबाट अनुमोदन भएको संविधानमा राष्ट्रपति पुटिनलाई थप दुई कार्यकाल शक्तिमै रहने व्यवस्था गरिएको छ । प्रत्येक कार्यकाल ६ वर्षको हुनेछ ।
राष्ट्रपति पुटिनको अहिलेको कार्यकाल आगामी सन् २०२४ मा सकिने थियो । तर, संविधानको नयाँ व्यवस्थाले थप ६ वर्षे दुई कार्यकाल थपेकाले उनको कार्यकाल सन् २०३६ सम्म सुनिश्चित भएको हो । ६७ वर्षीय पुटिनले रुसमा दुई दशकदेखि शासन गर्दै आएका छन् ।