महाकाली सन्धि गर्ने नेताहरूले माफी माग्नुपर्छः उपाध्यक्ष गौतम

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतमले महाकाली सन्धि गलत रहेको दोहोर्‍याउँदै नेताहरूलाई माफी माग्न चुनौती दिएका छन् । नेपाल–भारतबीच सम्पन्न बृहत् महाकाली सन्धि पारित भएको २४औं वर्षमा उनले पार्टीभित्र फेरि यो विषय उठाएका हुन् ।

त्यो बेला आफूले सन्धि गलत थियो भन्दा कारबाही गरेको प्रसंग उल्लेख गर्दै पार्टी स्थायी कमिटीको शनिबार बसेको बैठकमा गौतमले नेताहरूलाई आत्मालोचना गर्नसमेत भनेका छन् । महाकाली सन्धि गर्दा आफूलगायत नेताहरूलाई तत्कालीन पार्टी कमिटीले कारबाही गरेको र अहिले पनि त्यसको पीडा भोग्नुपरेको भन्दै उनले त्यो बेला गल्ती भयो भन्न पार्टीका नेताहरूलाई किन गाह्रो परेको भन्ने प्रश्न मात्र गरेनन्, माफी माग्नसमेत आग्रह गरे ।



लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितका भूभाग समेटिएको नक्सा सार्वजनिक भएको जस प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले मात्र लिएकोप्रति आपत्ति जनाउँदै गौतमले यो प्रसंग उठाएका हुन्। ‘नक्सा पास गरेर एकल जस लिन खोज्ने नेताले आजको दिनमा विगतमा गल्ती भयो भनेर किन गल्ती महसुस गर्नुहुन्न, आजै भनौं त्यो बेला वामदेव गौतमलाई कारबाही गरिएको विषय गल्ती थियो,’ उनलाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने।

लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितका भूभाग समेटिएको नक्सा सार्वजनिक भएको जस प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले मात्र लिएकोप्रति आपत्ति जनाउँदै नेता वामदेव गौतमले महाकाली सन्धिको प्रसंग उठाएका हुन् । नेता गौतमले आफूले समयमै सही मुद्दा उठाएको तर त्यतिबेला पार्टीले कारबाही गरेको र पार्टी फुटेको स्मरण गरेका थिए ।

महाकाली सन्धि संसद्को दुई तिहाइले २०५३ सालमा पारित गरेलगत्तै तत्कालीन नेकपा एमाले विभाजित भएको थियो । एमाले विभाजित भई बनेको नेकपा मालेको नेतृत्व गौतम र सिपी मैनालीले लिएका थिए । यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

सम्बन्धित समाचार