
प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले सलह किराको प्रकोपबाट जोगिन सकिने उल्लेख गर्दै यसबाट धेरै नडराउन किसानलाई आश्वासन दिएका छन् ।
मन्त्री साहले आइतबार विज्ञप्ति जारी गरी सलहबाट जोगिन सकिने उपाय अपनाएर सहयोग गर्न पनि किसानसँग आग्रह गरेका छन् । ‘यो किरालाई ड्रम वा थाल ठटाएर बालीनालीको क्षेत्रबाट अन्यत्र धपाउन सकिन्छु मन्त्री साहले भने, ‘किराबाट जोगिन अपनाउनुपर्ने उपायका बारेमा कृषि वैज्ञानिकहरूसँग गम्भीर छलफल भएको छ । तपाईंहरू (किसान) ले धेरै चिन्ता नगर्नुस् ।’
मनसुन सुरु भइसकेको कारण पनि सलहको फैलावट बढ्न नसक्ने उनको भनाइ हो । ‘प्रदेश २ को बारा, पर्सा र सर्लाही जिल्लामा सलह भित्रिएको देखिन्छ । धेरै संख्यामा नरहेकाले धेरै चिन्ता गर्नुपर्ने अवस्था छैन । बालीनालीबाट चरण क्षेत्रमा धपाउनुका साथै किटनाशक औषधि छर्केर सहयोग गर्नुस्’ मन्त्री साहले भने ।
केही साता अघि भारतको बंगालमा देखिएको वनस्पति नाशक किरा ‘सलह’ प्रदेश २ को सर्लाही हुँदै शनिबार नेपालमा प्रवेश गरेको देखियो । करिब एक लाखको संख्यामा देखिएको उक्त किरा सलह नै भएको पुष्टि भए लगत्तै यो किरा नेपालमा प्रवेश गरेको नाका र संख्या यकिन गर्न तत्काल कृषि निर्देशनालयका निर्देशक रतनकुमार झाको नेतृत्वमा कृषि वैज्ञानिकहरूको टोली परिचालन गरिएको थियो ।
लगत्तै नेपाल लगायत छिमेकी मुलुकहरूका कृषि वैज्ञानिकहरूसँग अनलाइन छलफल गरी निकासका उपायबारे निरन्तर छलफल गरिरहेको उल्लेख गर्दै राज्यमन्त्री योगेन्द्र राय यादवले यसको नियन्त्रणका लागि उपयुक्त कार्ययोजना बनाएर अघि बढिरहेको बताए ।
