नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ असार ।

पछिल्लो केही दिनयता देशभर कोरोना संक्रमितहरूको संख्या बढ्दै गइरहेको छ । नेपालमा कोरोना भाइरसको पहिलो संक्रमण गत वर्ष माघ ९ गते देखिएको थियो भने दुई महिनापछि चैत्र १० गते दोस्रो संक्रमण देखा परेको थियो । तर हालसम्म नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण देखा परेको स्वास्थ्य मन्त्रालयका जनाएको छ । गत चैत १ गतेबाट जारी लकडाउन जेठ मसान्तबाट केही खुकुलो मात्रै बनाएको भनिए पनि अहिले पूर्ण रूपमा खुला जस्तै छ । चिकित्सकहरूका अनुसार देशभर कोरोनाको संक्रमण बढिरहेको अवस्थामा यस किसिमको खुकुलो लकडाउनले झनै जोखिम निम्त्याउने खतरा बढेको छ । लकडाउनको बीचमा कोरोना बिरामी मुक्त बनेको काठमाडौं उपत्यकामा फेरि कोरोना संक्रमितहरू थपिन थालेका छन् ।
काठमाडौं उपत्यकामा शनिबार मात्रै ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार शनिबार काठमाडौंका १ महिला, ३ पुरुष र भक्तपुर १ पुरुषमा कोरोना संक्रमण देखिएको हो । उपत्यकामा यसअघि शुक्रबार ३ जनामा र विहीबार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार काठमाडौंका संक्रमितको पाटन अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, टेकु अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । संक्रमितहरू चन्द्रागिरी, कालिमाटी, नक्साल, कलंकी, एयरपोर्ट गेट, मैतीदेवी, बुढानीलकण्ठ, बानेश्वर, त्रिपुरेश्वर, टेकु, बागबजार, तीनकुने, तारकेश्वर र गोकर्णेश्वर लगायतका ठाउँमा रहेको मन्त्रालयले जनाएको छ ।
दैनिक सयौंको संख्यामा प्रर्दशन
संघीय राजधानी काठमाडौंका सडकहरूमा पछिल्लो केही दिनयता विभिन्न समूहहरूले ठाउँठाउँमा विरोध प्रर्दशन गरिरहेका छन् । रूकुमपश्चिमको सोती घटनादेखि एमसीसीसम्मलाई लिएर दैनिक जसो उपत्यकाका सडकहरूमा विरोध प्रर्दशनहरू भइरहेका छन् । प्रर्दशनका क्रममा न त भौतिक दुरीको नै ख्याल गरेको देखिन्छ न त सबैले मास्कको प्रयोग गरेको देखिन्छ । जसले गर्दा कोरोनाको संक्रमण फैलिन झनै मद्दत पुग्ने देखिन्छ ।
त्यसैगरी, सार्वजनिक सवारी साधनहरू चलाउनमा रोक लगाए पनि निजी सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागू हुने गरी चलाउन सरकारले अनुमति दिइसकेको छ तर यसको पनि पूर्ण रूपमा पालना भएको पाइँदैन । उक्त नियम उल्लघंन गरेकै कारण दैनिक सयौको संख्यामा सवारी साधनहरूलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिने गरेको छ । उपत्यकाका मुख्य सडकहरूमा सवारीसाधनहरूको चाप बढेसँगै भित्री सडकहरूमा पनि सर्वसाधारणहरूको चहलपहल बढ्दै गएको देखिन्छ ।
सरकारी कार्यलयहरूमा अव्यवस्थित भिड
सरकारी कार्यालयहरू पनि गत असार १ गतेबाट खुलिसकेका छन् । अधिकांश कार्यालयमा सेवाग्राहीको अव्यवस्थित भिड लाग्न थालेको छ । खासगरी सेवाग्राहीको भिड लाग्ने यातायात, मालपोत जस्ता सरकारी कार्यालयमा सेवा लिन पुगेका व्यक्तिहरूले सुरक्षाको सामान्य सावधानी समेत अपनाएका छैनन् । भौतिक दुरी कायम भएको छैन भने कतिपय व्यक्तिले मास्कको प्रयोग समेत गरेका छैनन् । सडक तथा बजारमा निस्केका सर्वसाधारणहरुले कोरोनाको संक्रमणबाट बच्न अपनाउनु पर्ने न्युनतम सावधानीहरू पनि अपनाएको देखिदैन, जसले गर्दा संक्रमण झन् फैलिन सक्ने जोखिम बढेको छ ।
