
प्रदेश ५ सरकारले सलह किरा नियन्त्रणमा लिन किलोको २० रुपैयाँमा किन्ने घोषणा गरेको पहिलो दिन बुटवलका २ वालकले १७० रुपैयाँ कमाउन सफल भएका छन् । शनिबार प्रदेश ५ सरकारले यो किरा टिपेर ल्याएमा किलोको २० रुपैयाँ नगद प्रोत्साहन दिने घोषणा गरेको थियो ।
आइतबार सलह बोकेर दुई बालबालिका बुटवल उपहानगरपालिकाको वडा नम्बर ४ को कार्यालयमा पुगेका थिए । लक्ष्मीनगरका अच्युत न्यौपानेले ५ किलो र सविना थारुले साढे ३ किलो सलह उपहानगरपालिका पुर्याएका थिए ।
वडाको सिफारिसअनुसार न्यौपानेलाई १०० रुपैयाँ र थारुलाई ७० रुपैयाँ दिएको उपमहानगरका वरिष्ठ अधिकृत तथा आर्थिक विकास महाशाखा प्रमुख भुवाप्रसाद लुइँटेलले जानकारी दिए । सलह भने कुखुरापालक किसानलाई दिइएको छ ।
