सुदूरपश्चिममा एक किलो सलह समाते २५ रुपैयाँ दिइने

सलह किरा नेपालका विभिन्न जिल्लामा फैलिन थालेको छ । शनिबार तराईका बारा, पर्सा, सर्लाही, रुपन्देहीलगायतका जिल्लामा देखिएको सलह आज काठमाडौं र ललितपुरसहित अरु जिल्लामा पनि देखिएको हो । आज दाङ, चितवन, कास्की, खोटाङ, लमजुङ, गुल्मीसहित विभिन्न जिल्लामा सलह भेटिएको छ ।

चितवनको कालिका र खैरहनी नगरपालिकामा सलह भेटिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सिनाका अनुसार सलह किराका सानो झुण्डलाई स्थानीयवासीले गुलेली हानेर वनतर्फ धपाएका छन् । खैरहनी नगरपालिकाको पर्सा क्षेत्रमा आकाशमा सानो झुण्ड उडेको जानकारी कृषि प्राविधिकले गराएको पनि उनले बताए ।



सलहले बाली नष्ट गर्न सक्ने भएकाले मकै बाली तत्काल थन्क्याउन, चैते धान काट्न, रोपाइँ भइरहेको ठाउँमा काम रोकेर नर्सरी जोगाउन र तरकारीका बेर्ना जोगाउन किसानलाई आग्रह गरिएको र आवश्यक सहयोग गर्न निर्देशन पनि दिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।

कास्कीको पोखरा महानगरपालिका १७ महतगौँडा क्षेत्रमा सलह किरा भेटिएको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । किसानलाई सलह चिनाएर क्षति न्यूनीकरणको लागि सजग बनाउन महानगर लागिपरेको उनले बताए । यो बेलामा किसानलाई बाली संरक्षण गर्न पठाउने र हुल नै बाँधेर आएको खण्डमा नियन्त्रणको लागि बिषादी छर्कनेलगायतको योजना महानगरले बनाएको उनको भनाइ छ ।

यस्तै खोटाङको हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न ठाउँमा सलह किरा देखिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । दिक्तेलमा रहेको सरस्वती माविको भित्तामा पनि सलह भेटिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखाका कृषि प्रसार अधिकृत धर्मेन्द्र कलौनीले बताए ।

यस्तै ललितपुरको दक्षिणी क्षेत्रमा पनि सलह देखा परेको स्थानीयवासीले बताएका छन् । सलह मकवानपुर हुँदै ललितपुर प्रवेश गरेको हुन सक्ने विज्ञले बताएका छन् । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ७ बतासे र भण्डारेमा सलह किराले बाली नष्ट गर्न थालेको छ । हिजो मात्रै नेपाल पसेको सलहले बालीनाली नष्ट गर्न थालेको गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँले बताए । कतिपय भित्र्याउने बेला भएको बालीसमेत सलहले नष्ट गर्न थालेको उनले बताए ।

लमजुङको सुन्दरबजार नगरपालिका ९ को फेदीकुनामा मकै बारीमा बिहान सलह देखिएको हो । तर थोरैको सङ्ख्यामा भएकाले क्षति नपुगेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत विजयराज पौडेलले बताए। त्यस्तै गुल्मीको चन्द्रकोट गाउँपालिकाको आकाशमा झुण्डसहितको किरा देखिएको गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले बताए ।

विज्ञहरुले नेपाल आइपुगेको सलह किरा एक महिनासम्म रहन सक्ने अनुमान गरेका छन् । वयस्क र बच्चाको समूहमा नेपाल प्रवेश गरेको सहल किरा नेपालमा बढीमा एक महिनासम्म रहन सक्ने प्रक्षेपण विज्ञहरुले गरेका हुन् । वयस्क सलह बढीमा दुई हप्ता र बच्चा सलह एक महिनासम्म बाँच्न सक्ने कृषि विभागका पूर्व महानिर्देशक डाक्टर डिल्लीराम शर्माले बताए ।

यसैबीच सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक किलो सलह किरा ल्याए २५ रुपैयाँ दिने निर्णय गरेको छ । धान दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले नगद प्रोत्साहन दिने निर्णय भएको जानकारी दिएको हो ।

सम्बन्धित समाचार