‘चीनले नेपाली भूमि अतिक्रमण गरेको भनिएको प्रतिवेदन कुन कारखानामा बन्यो ?’

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण गरेको भनिएको प्रतिवेदन कुन कारखानामा बन्यो भनेर खोजी भइरहेको बताएका छन् । राष्ट्रियसभाको सोमबार बसेको बैठकमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।

चीनले सात स्थानमा नेपालको सीमा मिचेको भनेर आएको समाचारको खण्डन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले सीमा विवादका सम्बन्धमा तथ्यमा आधारित भएर समाचार प्रकाशन गर्न सञ्चार माध्यमलाई आग्रह गरेका छन् । चीनतर्फ सात जिल्लामा सीमा अतिक्रमण भएको भनी प्रकाशित समाचारमा दिइएको स्रोत नै गलत भएको र चीनले नेपाली भूभाग मिचेको सत्यता अनुसन्धान गर्दा पुष्टि नभएको उनको भनाइ थियो ।



नेपाल र चीनको सीमा सम्बन्धमा केही भ्रामक बनावटी समाचार प्रकाशित भइरहेको भन्दै मन्त्री ज्ञवालीले भने ‘कृषि मन्त्रालयको हवाला दिएर सिलसिलावार ढंगले समाचार आए, नेपालका केही भू–भाग चीनले अतिक्रमण गरेको कुरा भनियो । यसका बारेमा कृषि तथा पशुपंक्षी मन्त्रालयले प्रष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले पनि नेपाल र चीनको सीमामा अन्त कहीं विवाद नभएको स्पष्ट गरेको छ ।’

साथै मन्त्री ज्ञावलीले दुई देशबीचको सम्वन्धमा प्रतिकूल प्रभाव पार्ने समाचार प्रकाशन नगर्न र यसबाट भ्रममा नपर्न आग्रह गरे । नेपाल र चीनका बीचमा सन् १९५५ मा पत्राचारपछि कूटनीतिक सम्बन्ध स्थापना भएको उनले बताए ।

सम्बन्धित समाचार