कहाँ छन् काठमाडौंका ५९ जना संक्रमित ?

सोमबार काठमाडौंका ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएको जानकारीअनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ४ जना, पाटन अस्पताल प्रयोगशालामा १ जना र त्रिभुवन विश्वविद्यालय महाराजगंज प्रयोगशालामा १ जना गरी काठमाडौंका ६ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमितमध्ये २२ जना डिस्चार्ज भैसकेका छन् । काठमाडौंका संक्रमितको पाटन अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, टेकु अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



संक्रमितहरू चन्द्रागिरि, कालिमाटी, नक्साल, कलंकी, एयरपोर्ट गेट, मैतीदेवी, बूढानीलकण्ठ, बानेश्वर, त्रिपुरेश्वर, टेकु, बागबजार, तीनकुने, तारकेश्वर र गोकर्णेश्वर लगायतका ठाउँमा रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४७६ जनामा कोरोना भाइरस संक्रमण भएको जानकारी दिएको छ । सोमबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४७६ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए । जसमध्ये ३६४ पुरुष र ११२ जना महिला रहेका छन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । जसमध्ये ११ हजार ६ सय ६२ जना पुरुष र एक हजार पाँच सय ८६ महिला रहेका छन् । पछिल्लो २४ घण्टामा १२१ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ३ हजार १३४ पुगेको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २९ रहेको छ ।

सम्बन्धित समाचार