नेकपा स्थायी कमिटी बैठक : ओलीलाई सरकारबाट फिर्ता बोलाउने तयारी !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । गत बुधबारदेखि सुरु भएको स्थायी कमिटीको तीनवटा बैठक बसिसकेका छन् । आजको बैठक बिहान ११ बजे प्रधानमन्त्री निबास बालुवाटारमा बस्न लागेको हो ।

बुधबार नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेर सुरु भएको बैठक शुक्रबार र शनिबार बसिसकेको छ । शुक्रबारको बैठकमा ओली उपस्थित भएका थिएनन् भने शनिबारको बैठकमा केही मिनेटका लागि मात्रै उपस्थित भएका थिए ।



प्रधानमन्त्री ओलीले अपेक्षाकृत काम नगरेको र विवादित काम गरेको भन्दै गत वैशाखदेखि पार्टीभित्रैबाट उनको राजीनामाको माग उठेको छ । स्थायी कमिटीमा चर्को आलोचना खेप्नुपर्ने डरले ओली बैठकबाट तर्किरहेका छन् । आइतबार ओलीले भारत र नेपालका शक्तिलाई आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको अभिव्यक्ति दिएपछि ओलीइत्तरका नेताहरु थप रुष्ट बनेका छन् । आजको बैठकमा ओली उपस्थित भएमा उनीसँग थप स्पष्टिकरण माग्ने उनीहरूको तयारी छ ।

ओलीलाई भारतले होइन हामी सरकारबाट हटाउन चाहन्छौं, नाम नबताउने शर्तमा एक नेकपा स्थायी कमिटीका एक नेताले भने । उनका अनुसार ओली आजको बैठकमा जिम्मेवारपूर्वक प्रस्तुत नभए र बैठकबाट भाग्ने रणनीति लिए स्थायी कमिटीले पार्टीबाटै फिर्ता बोलाउने सम्भावना छ । यस विषयमा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ट नेता माधव नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमबीच निरन्तर परामर्श भैरहेको बताइन्छ ।

पछिल्लो समय पार्टीका हरेक कमिटीमा अल्पमतमा परेका ओली सम्भावित खतरा टार्न नै स्थायी कमिटी बैठक छल्दै आएका छन् । त्यसो त उनी स्थायी कमिटी बैठक बोलाउनै चाहन्नथे । चौतर्फी दवावपछि बैठक बोलाए पनि कार्यव्यस्थताको वाहनामा उनी बैठकमा उपस्थित हुने गरेका छैनन् । पार्टीभित्रबाटै सरकारबाट फिर्ता बोलाउने सम्भावना देखिएपछि सीमा विवाद र नयाँ नक्सा जारी गरेकोले भारतको इशारामा आफूइत्तरका शक्तिहरू सरकार ढाल्न अग्रसर रहेको लञ्छना ओलीले लगाउने गरेका छन् । यसले प्रचण्ड, नेपाल र खनाल ओलीसँग थप आक्रोशित हुन पुगेका छन् ।

आजको बैठकमा यस विषयमा घनिभूत छलफल हुनेछ । ओलीले आत्माआलोचना गरेर सहमतिमा सरकारको काम कारवाही अगाडि बढाउन सहमत नभएमा सरकारबाटै फिर्ता बोलाउने निर्णय हुनसक्ने स्रोतको दाबी छ ।

सम्बन्धित समाचार